
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न पार्टी नेतृत्वले संवाद प्रक्रिया अघि बढाएको छ । सभापति गगन थापाले शीर्ष नेताहरूसँग अलग-अलग भेटघाटमार्फत सहमतिको वातावरण बनाउने प्रयास थालेका छन् ।
सोही क्रममा उनले आज नेता शेखर कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट गरी करिब एक घण्टा छलफल गरेका छन् । भेटमा पार्टीभित्रका वर्तमान विवाद तथा आगामी रणनीतिबारे विचार आदान–प्रदान भएको जनाइएको छ ।
यसैबीच थापाले आजै अर्को नेतासँग पनि छलफल गर्ने तयारी गरेका छन् । प्रवक्ता देवराज चालिसेका अनुसार उनले नेता पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
थापाले यसअघि खड्कासँग एक पटक छलफल गरिसकेका छन् भने कोइरालासँग भने यो पहिलो औपचारिक भेट भएको बताइएको छ । पार्टीलाई एकताबद्ध गर्दै आगामी महाधिवेशनसम्म लैजाने उद्देश्यसहित सभापतिले संवाद प्रक्रिया अघि बढाएको प्रवक्ताको भनाइ छ ।