
काठमाडौँ : जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति नदिने निर्णय गरेको छ । अदालतले अनुसन्धानका लागि थप हिरासत म्याद माग गरिएको निवेदन अस्वीकार गरेको हो ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमति निरन्तरता दिन आवश्यक नदेखिएको भन्दै म्याद थप नगर्ने आदेश दिएको हो ।
आदेशमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था पुष्टि नभएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार त्यस्तो म्याद दिन नमिल्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
यो निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई हिरासतबाट मुक्त गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।
यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी कसुरमा धरौटी र जमानतको विकल्प हुँदाहुँदै पनि हिरासतमा राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो । बीमा सम्बन्धी कसुरको मुद्दामा भने रिट निवेदनको माग सीमित भएको भन्दै सर्वोच्चले विस्तृत टिप्पणी नगरेको थियो ।
सर्वोच्चको उक्त संकेतपछि सीआईबीले उनलाई धितोपत्र कसुरको सट्टा बीमा सम्बन्धी कसुरको आधारमा अनुसन्धान अघि बढाइएको दाबी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको थियो । त्यसपछि बीमा सम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालत पुगेको भए पनि अदालतले पुनः हिरासत अनुमति दिन अस्वीकार गरेको हो ।