२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

Nada
२०८३ वैशाख २३ गते ११:४५
Shares
बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ ।

ncell

समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मंगलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ ।

यसैबीच सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका यात्रुको राति उद्धार गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई आज बिहान १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । वर्षात्पछिको बाढीले रोशी क्षेत्रमा बिपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ । बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।

गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर