
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा उपसभापति विश्वप्रकाश शर्मासहित निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेट गर्न काठमाडौंको गोल्फुटारस्थित उनको निवास पुगेका हुन् ।
खड्काको सचिवालयका अनुसार बुधबार बिहान ११ बजेदेखि सुरु भएको भेटवार्ता करिब साढे एक घण्टा चलेको थियो । भेटमा पार्टीभित्रका समसामयिक विषय र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।
यसअघि मंगलबार बेलुका तय भएको तीन नेताबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि सभापति थापाले सोही दिन बिहान नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए ।
पछिल्ला दिनहरूमा कांग्रेसभित्र नेताहरूबीच निरन्तर संवाद भइरहेको देखिन्छ । सभापति थापाले यसअघि पनि वैशाख ६ गते खड्कालाई उनकै निवासमा भेटेका थिए ।