
काठमाडौँ : श्रम संस्कृति पार्टीले देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा, सुकुम्वासी व्यवस्थापनका नाममा अपनाइएका भनिएका बलपूर्वक उपायप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका महासचिव आरेन राईले जारी गरेको विज्ञप्तिमा वास्तविक सुकुम्वासीको अधिकारलाई उपेक्षा गर्दै गरिने कुनै पनि सरकारी कदम न्यायसंगत, वैध तथा दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेको जबरजस्ती स्थानान्तरण, अस्थायी संरचना भत्काउने तथा बल प्रयोगसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ । यस्ता कार्यले प्रभावित समुदायमा थप असुरक्षा र अस्थिरता सिर्जना गरेको दाबीसमेत गरिएको छ ।
पार्टीले एकपक्षीय र असंवेदनशील नीतिगत अभ्यास निरन्तरता पाएमा राज्य र नागरिकबीचको विश्वासमा गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ । साथै, संविधानको मूल भावना विपरीत हुने कुनै पनि कदमप्रति नागरिक स्तरबाट हुने प्रतिकारलाई स्वाभाविक तथा कानुनी रूपमा वैध मानिने धारणा विज्ञप्तिमा उल्लेख गरिएको छ ।