२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

निषेधित क्षेत्रमा पदयात्रा अघि अनिवार्य अनुमति लिन अध्यागमन विभागको निर्देशन

Nada
२०८३ वैशाख २३ गते १८:०७
Shares
निषेधित क्षेत्रमा पदयात्रा अघि अनिवार्य अनुमति लिन अध्यागमन विभागको निर्देशन

काठमाडौँ : अध्यागमन विभागले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा पूर्वअनुमति लिन ट्रेकिङ एजेन्सीहरूलाई सचेत गराएको छ ।

ncell

विभागका प्रवक्ता टीकाराम ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा केही एजेन्सीहरूले नियम विपरीत गतिविधि गर्दै आएको पाइएको उल्लेख गरिएको छ । विशेष गरी रेस्क्युको बहाना बनाएर कर्मचारीमाथि दबाब सिर्जना गर्ने, पूर्वस्वीकृति नलिई पदयात्रा गराउने र स्थानीय प्रशासनबाट पहिचान भएपछि मात्र अनुमति प्रक्रिया सुरु गर्ने प्रवृत्ति देखिएको जनाइएको छ ।

यस्ता गतिविधिका कारण निर्दोष विदेशी पदयात्रीसमेत कारबाहीको दायरामा पर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ । साथै, यसले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयता र अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ ।

विभागले निर्धारित प्रक्रिया पालना गर्दै मात्र विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउन पुनः आग्रह गरेको छ । भविष्यमा नियम उल्लङ्घन भएको पाइएमा विद्यमान अध्यागमन कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ ।

हाल विदेशी नागरिकका लागि १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न विभागबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । समूहगत रूपमा ट्रेकिङ एजेन्सीमार्फत जाने पर्यटकका लागि अनुमति सेवा सरल, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीमार्फत सेवा विस्तार भइरहेको जानकारी दिइएको छ ।

यस्तै, सातामा दुई दिन सार्वजनिक बिदा लागू गरिएको अवस्थामा पनि शनिबार बाहेकका अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अनुमति सेवा उपलब्ध गराइने निर्णय गरिएको विभागले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर