
काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग करिब चार घण्टा लामो अन्तरक्रिया गरेका छन् । गुण्डुस्थित भेटघाटमा ११ जना प्रदेश सभा सदस्य सहभागी थिए ।
प्रदेशमा संसदीय दलको नेतृत्व परिवर्तनको चर्चा चलिरहेका सन्दर्भमा भएको उक्त छलफलमा अध्यक्ष ओलीले संगठनात्मक एकता र समन्वयमा जोड दिएका छन् ।
बुधबार बिहानका लागि तय गरिएको बैठक केही ढिलो गरी सुरु भएको थियो । प्रारम्भमा प्रदेश संयोजक गणेशसिंह ठगुन्नाले समग्र अवस्था प्रस्तुत गरेका थिए भने त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले थप विवरण राखेका थिए ।
पार्टीतर्फबाट दुई प्रतिनिधिले धारणा राखेपछि सांसदहरूले प्रदेश सरकारको कार्यसम्पादन, दलको आन्तरिक अवस्था तथा समसामयिक राजनीतिक विषयमा आफ्ना विचार विस्तृत रूपमा अध्यक्ष ओलीसमक्ष प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस नेतृत्वको गठबन्धनमा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सहभागी रहेका छन् । मन्त्री चयनमा समेटिन नसकेका केही सांसदहरूले अवसरको समुचित बाँडफाँट हुनुपर्ने विषय पनि उठाएका थिए ।
सांसदहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्नु आवश्यक रहेको बताएका थिए। यद्यपि, नेतृत्व परिवर्तन वा मन्त्रीसम्बन्धी विषयमा कुनै औपचारिक निर्णय भने गरिएको छैन ।
थप छलफलका लागि अध्यक्ष ओलीले उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेशसिंह ठगुन्ना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई आगामी शुक्रबार पुनः छलफलका लागि बोलाएका छन् ।
संसदीय दलका नेता रावलका अनुसार बैठकमा सांसदहरूले उठाएका गुनासा र सुझाव अध्यक्ष ओलीले ध्यानपूर्वक सुनेका छन् र सबैलाई एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरेका छन् ।