मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : निर्वाचन आयोगले चुनावको मिति घोषणाअघि भएको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालमाथिको बहसलाई अन्त्य गर्ने प्रयास गरेको छ । आयोगका अनुसार संसदको कार्यकाल मंसिर २१ सम्म रहनेछ । यसको आधार २०७४ सालमा भएको चुनावलाई लिइएको छ । २०७४ सालमा मंसिर १० र २१ गरी दुई चरणमा चुनाव भएको थियो । दोस्रो चरणको चुनावको मितिलाई आधार मानेर आयोगले मंसिर २१ गतेसम्म आर्यकाल रहने भनेको हो । संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल ५ बर्ष हुने उल्लेख छ ।
निर्वानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका हुन् ।
‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका छौं’ उनले जानकारी दिए ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए । त्यस अनुसार ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था गर्ने पनि बताए ।
उनले दशैंको लगत्तै उम्मेदवारी दर्ताको कार्यतालिका बनाउने र उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि त्यतिबेलै सकिने व्यवस्था गर्ने पनि बताए । उनी भन्छन्, ‘अनुमान गर्दा दशैंको लगत्तै पछि उम्मेदवारी दिने कार्यतालिका बनाउनुपर्ने जस्तो देखिछ । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुर्छ भन्ने आयोगको धारणा छ ।’
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसदको कार्यकालका सम्बन्धमा विगतको अभ्यास र परम्परा नै प्रयाप्त रहेको बताएका छन् । उनले भने, ‘विगतको अभ्यास र परम्परा छ । यसकारण संसदको कार्यकालका सम्बन्धमा धेरै ठुलो विवाद छैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies