
काठमाडौं : नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेकलगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सन्दीप राना, नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले भारत–चीन दुई छिमेकी मुलुकले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको उल्लेख गर्दै उक्त क्षेत्रको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले सरकारले त्यसलाई फिर्ता ल्याउनका लागि कूटनीतिक पहलकदमीमा पर्याप्त ध्यान दिनुपर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रानाले उक्त क्षेत्रको नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले दुवै मुलुकसँग बसेर प्रत्यक्ष वार्ता गर्ने कुरामा पनि ढिलाइ गर्न नहुने बताए । उनले नेपालले उक्त क्षेत्रको बारेमा भारत र चीनसँग छलफल गर्दा पर्यटन प्रवर्धन गर्ने विषयलाई पनि महत्वका साथ अघि बढाउनुपर्ने बताए ।
एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले नेपाली भूमि लिपुलेकबारे भारतीय पक्षले दिएको जवाफ आपत्तिजनक रहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नका लागि सरकारले सबै राजनीतिक दलहरूसँग छलफल गरेर एकीकृत राष्ट्रिय धारणा बनाउन आवश्यक रहेको बताइन् ।
अर्को प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमेशकुमार हमालले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न आवश्यक रहेको बताए । उनले सो सम्बन्धमा सरकारले सबै राजनीतिक दलहरूलाई विश्वास लिएर अघि बढ्न ढिलाइ गर्न नहुने पनि बताए ।
सांसद हमालले सरकारले सीमा क्षेत्रमा भएका अतिक्रमण रोक्नका लागि विगतका सरकारले गरेका पहलहरूलाई ध्यानमा राखेर अघि बढन उपयुक्त हुने राय समेत राखे ।