
काठमाडौं : अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले सरकारी विज्ञापन राज्यनियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने नेपाल सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
फ्रान्सको पेरिसमा मे ४ देखि ७ सम्म सम्पन्न आइएफजेको विश्व सम्मेलनले उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको विविधतामाथि नकारात्मक असर पर्ने निष्कर्ष निकालेको हो ।
नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते जारी गरेको निर्देशनअनुसार सबै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरिएको थियो । उक्त निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले निरन्तर विरोध गर्दै आएको छ ।
आइएफजे सम्मेलनमा नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघको एसिया–प्रशान्त क्षेत्रीय समितिले संयुक्त रूपमा प्रस्ताव दर्ता गरेका थिए । सम्मेलनले त्यसलाई संकल्पका रूपमा पारित गरेको जनाएको छ ।
सम्मेलनले सरकारी विज्ञापन वितरणलाई राज्यनियन्त्रित सञ्चारमाध्यममा सीमित गर्दा सम्पादकीय स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र पत्रकारिताको स्वायत्ततामा प्रत्यक्ष असर पर्ने उल्लेख गरेको छ । साथै, सूचना प्रवाहमा सरकारी एकाधिकार बढ्ने र स्वतन्त्र सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने खतरा औंल्याइएको छ ।
संकल्पमा विज्ञापन धेरै सञ्चारमाध्यमको मुख्य आम्दानीको स्रोत भएकाले यस्तो निर्णयले स्वतन्त्र मिडियाको आर्थिक दिगोपना, पत्रकारहरूको रोजगारी तथा नागरिकको सुलभ सूचना प्राप्त गर्ने अधिकारमा असर पार्ने उल्लेख गरिएको छ ।
सम्मेलनले नेपालको संविधानले सुनिश्चित गरेको बहुलवाद, समानता, प्रेस स्वतन्त्रता र सूचनाको हकविपरीत हुने गरी कुनै पनि नीति लागू गर्न नहुने धारणा पनि व्यक्त गरेको छ । युनेस्कोको मिडिया विकास सूचकांकअन्तर्गत नेपालले गरेको प्रतिबद्धता स्मरण गर्दै सरकारी विज्ञापन निष्पक्ष, पारदर्शी र गैर–विभेदकारी ढंगले वितरण हुनुपर्नेमा जोड दिइएको छ ।
आइएफजेले प्रेस स्वतन्त्रतालाई सीमित गर्ने खालका कानुनी तथा नीतिगत प्रयासप्रति पनि चासो व्यक्त गर्दै सरकारलाई सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यका कानुन नल्याउन आग्रह गरेको छ ।
सम्मेलनले नेपाल पत्रकार महासंघले चलाइरहेको विरोध आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै नेपाल सरकारलाई विभेदकारी नीति तत्काल फिर्ता लिन र सबै सञ्चारमाध्यमलाई सार्वजनिक विज्ञापनमा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।
उक्त सम्मेलनमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व अध्यक्ष निर्मला शर्माले गरेकी थिइन् ।