मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : मौजुदा प्रतिनिधिसभा र प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको मुलुककै सबैभन्दा ठूलो पार्टी नेकपा एमालेले आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावएक्लै लड्ने तयारी गरेको छ ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पाँच दल एकातिर थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा चुनावी गठबन्धन बनाएर चुनावमा होमिँदा एमालेले केही साना पार्टीको साथ लिए पनि समग्रमा एक्लै चुनाव लडेको थियो । यस्तो हुँदा पनि दोस्रो ठूलो दल हुन सफल एमाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि एक्ले लड्ने तयारीमा छ ।
एक्लै चुनावमा जाने तयारीमा रहेको एमालेल मुख्यत ‘विकासका लागि स्थिर सरकार र स्थिरताका लागि बहुमत’ भनेर जनतामा जाने तयारी गरेको छ । यही अनुसार एमाले नेताहरुले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
शनिवार मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको टिप्पणी गरे । यस्तो टिप्पणीका पछाडि उनले स्थिर सरकार चलाउन नदिएको भनी प्रचण्ड र माधव नेपाललाइ आरोपित गर्न खोज्नु हो ।
शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइ दिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड टिप्पणी गरेका हुन । एमाले अध्यक्ष ओलीको प्रश्न छ, ‘कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् ?’
एमाले अध्यक्ष ओलीले रुख ढाल्ने बन्चरोको बींड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा सुनाए ‘बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन् । अरु रुखले सोधे ‘आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ,‘कसैले काट्यो ढल्नुपर्यो भनेर किन आँशु खसालेको ?’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने बञ्चरोको बींड काठकै छ, त्यो चाहिं दुखको कुरा हो ।’
बञ्चरोले मात्र रुख ढाल्न सक्दै नसक्ने उल्लेख गर्दै उनले भने, ‘कांग्रेसलाई २३ सिटमा पु¥याइदिएका थियौं लड्ने त कुरा छाडिदिऔं हेर्न पनि सकेको थिएन, तर अदालत गएर सरकार ढालिपाउँ भन्ने दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागे ।’
एमाले अध्यक्ष ओलीले माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन पनि आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies