२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलता’मा स्नातकोत्तर कार्यक्रमको शुभारम्भ

Nada
२०८३ वैशाख २६ गते ०६:२५
Shares
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलता’मा स्नातकोत्तर कार्यक्रमको शुभारम्भ

काठमाडौं : नेपाल कम्युनिभर्सिटीले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता’ विषयको स्नातकोत्तर शैक्षिक कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षक, उद्यमी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा यस कार्यक्रमको शुभारम्भ गरिएको हो ।

ncell

सन् २०२६ अक्टोबरदेखि सुरु हुने यो कार्यक्रम परम्परागत कक्षाकोठाको सीमाभन्दा बाहिर रहेर “समुदाय नै पाठ्यक्रम” र “अनुभवजन्य सिकाइ” को अवधारणामा आधारित हुनेछ । यसअन्तर्गत विभिन्न शैक्षिक पृष्ठभूमिका ३० जना विद्यार्थीहरूले नेपालका तीन फरक भौगोलिक क्षेत्र— मुस्ताङ (हिमाल), चित्लाङ (पहाड) र जनकपुर (तराई) मा पुगेर प्रत्यक्ष अनुभवमार्फत अध्ययन गर्ने अवसर पाउनेछन् । अन्तिम चरणमा काठमाडौँमा क्यापस्टोन सेमेस्टर सम्पन्न गरिनेछ ।

यो कार्यक्रमले उद्यमशीलता, सामाजिक विज्ञान र प्रविधिलाई सामाजिक कल्याणसँग जोड्ने लक्ष्य राखेको छ । विद्यार्थीहरूले स्थानीय समुदायका सदस्यहरूसँग मिलेर समुदायमा आधारित परियोजनाहरूमा काम गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालले स्थानीय रूपमा जरो गाडेको तर विश्वस्तरमा सक्षम शिक्षा निर्माण गर्ने आफूहरूको दृष्टि रहेको बताए । उनले समाज बुझेको, सीप सिकेको र उद्यमशील सोच बोकेको जनशक्ति विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

काठमाडौँ विश्वविद्यालयका कला संकायका डिन प्रा. डा. उद्धव प्याकुरेलले यस कार्यक्रमले विद्यार्थीहरूलाई नेपालभित्रकै सम्भावना पहिचान गर्न र वास्तविक समस्याहरूको अर्थपूर्ण समाधान खोज्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख वक्ता डा. उत्तम बाबु श्रेष्ठले प्रविधि र सहरतर्फ केन्द्रित भइरहेको समाजको सन्दर्भमा यो कोर्सले “समुदाय, प्रकृति र गाउँहरू” लाई विशेष ध्यान दिएको बताए । उनले नयाँ विद्यार्थीहरूलाई उद्यमशीलताको बाटोमा लाग्दा मानव नैतिकताको सीमा नकुल्चिन र इतिहासप्रति जिम्मेवार हुन आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर