२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

घ्याम्पेडाँडा–रानिकोट सडक स्तरोन्नति अलपत्र, विनियोजित बजेट कार्यान्वयन नभएको गुनासो

Nada
२०८३ वैशाख २५ गते २१:२२
Shares
घ्याम्पेडाँडा–रानिकोट सडक स्तरोन्नति अलपत्र, विनियोजित बजेट कार्यान्वयन नभएको गुनासो

काठमाडौं : भक्तपुर–काभ्रे जोड्ने महत्वपूर्ण वैकल्पिक मार्ग घ्याम्पेडाँडा–रानिकोट सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपनि काम भने अझै सुरु हुन सकेको छैन । रातो किताबमै समावेश गरिएको योजना आर्थिक वर्ष सकिँन लाग्दासमेत कार्यान्वयनमा नआएपछि स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

ncell

स्थानीयका अनुसार सडक स्तरोन्नतिका लागि करिब १.५ किलोमिटर खण्ड मात्रै बाँकी रहेको भएपनि सम्बन्धित निकायको बेवास्ताका कारण निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । उक्त सडक भक्तपुर हुँदै काभ्रेको पनौती जाने छोटो मार्गका रूपमा परिचित छ भने ललितपुरको लाकुरीभञ्ज्याङसँग समेत जोडिने रणनीतिक महत्व बोकेको सडक मानिन्छ ।

हाल काभ्रेतर्फ पनौतीबाट रानिकोटसम्मको सडक कालोपत्रे भइसकेको छ । तर भक्तपुरतर्फको खण्ड निर्माण नहुँदा स्थानीयवासीले दैनिक सास्ती खेप्नुपरेको बताएका छन् । 

ऐतिहासिक रानिकोट गढी, प्राकृतिक दृश्यावलोकन तथा धार्मिक आस्थाको केन्द्र प्राकृतिक भैरव मन्दिर दर्शनका लागि दैनिक सयौंदेखि हजारौं आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सडक सहज भए पर्यटन गतिविधि अझ विस्तार हुने स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी रामसुन्दर बके बताउँछन् । 

उनका अनुसार सडक पहुँचकै कारण क्षेत्रमा साना–ठूला होटल तथा अन्य व्यवसायसमेत विस्तार भइरहेका छन् । 

बकेले घ्याम्पेडाँडा–रानिकोट सडक समयमै स्तरोन्नति हुन नसक्दा यस क्षेत्रको पर्यटन तथा स्थानीय व्यवसाय प्रभावित भएको बताए । उनले रानिकोट गढी, प्राकृतिक भैरव मन्दिर तथा आसपासका रमणीय स्थान अवलोकनका लागि दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेपनि सडकको खराब अवस्थाले पर्यटकलाई सास्ती भइरहेको उल्लेख गरे । सडक सहज र सुरक्षित बने यस क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा कृषि–आधारित व्यवसाय अझ विस्तार हुने सम्भावना रहेको उनको भनाइ छ । साथै उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट तत्काल कार्यान्वयन गरी बाँकी सडक स्तरोन्नतिको काम शीघ्र अघि बढाउन आग्रह गरे ।

यसै सडकमार्फत काभ्रेको पनौती–१ क्षेत्रमा सञ्चालित ट्राउट फर्मका उत्पादन, कृषि उपज तथा बेथानचोक गाउँपालिकास्थित च्याग्रमबेसीको मडानी डेरीको दूध काठमाडौं उपत्यकामा भित्रिने गरेको छ । तर सडकको दयनीय अवस्थाले व्यवसाय सञ्चालन तथा ढुवानीमा समस्या भइरहेको व्यवसायीहरूको गुनासो छ । स्थानीयवासीका अनुसार वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने भएकाले दैनिक आवतजावतमा कठिनाइ हुने गरेको छ । विद्यालय जाने बालबालिकादेखि सर्वसाधारणसम्म प्रभावित भएका छन् भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको उनीहरूको भनाइ छ । स्थानीयले विनियोजित बजेट तत्काल कार्यान्वयन गरी बाँकी सडक स्तरोन्नति गर्न प्रदेश सरकारसँग माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर