काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले युएईमा हुने इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध भएका हुन् ।
इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । इमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।
बोर्डले खेलाडीको नाम सार्वजनिक गरेपनि टोलीको विवरण भने खुलाएको छैन । मार्की खेलाडी सूचीमा नेपालका सन्दीपसँगै वेस्टइन्डिजका सुनिल नारायण, आन्द्रे रसल, एभिन लेविस, फाबियन एलेन, शिम्रण हेटमायार, अकिल होसेन र रोभ्म्यान पावेल छन् । इंग्ल्यान्डका मोइन अली, दविद मलान, स्याम बिलिंग्स, टम करन, एलेक्स हेल्स, क्रिस जोर्डन र टम बयान्टन पनि सूचीमा छन् । अष्ट्रेलियाबाट क्रिस लिन पनि अनुबन्धित भएका छन् । यसबाहेक श्रीलंकाका वानिन्दु हसरंगा, दुस्मन्था चमिरा र भानुका राजपक्ष, न्युजिल्यान्डका कोलिन मुनरो तथा अफगानिस्तानका मुजिब उर् रहमान पनि मार्की सूचीमा छन् ।
प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म नाइट राइडर्स ग्रुपको अबुधावी नाइट राइडर्स, जीएमआर ग्रुपको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्सलाइनको गल्फ जायन्ट्स नाम पक्का भएको छ । क्याप्री ग्लोबल क्यापिटल लिमिटेड, लान्सर क्यापिटल र रिलायन्स स्ट्राटेजिक बिजिनेस भेन्चरले टोलीको नाम सार्वजनिक गरेको छैन ।
प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies