काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शाहीले प्रतिनिधिसभा चुनावमा हुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेकाले आफु उम्मेदवार बन्न लागेको शाहीले बताए । प्रवक्ता शाहीले आफूलाई काठमाडौं, चितवन, नवलपरासी, रुपन्देहीबाट चूनाव लड्न समर्थकहरुबाट सुझाव आए पनि आफूले जन्मथलो जुम्ला रोजेको प्रतिक्रिया दिए । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।
आफ्नो उम्मेदवारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले कसैको विरुद्ध नभएको उनको भनाइ छ ।
उनले आफूलाई जुम्लामा राप्रपा कमजोर रहेकोबारे अवगत रहेको पनि बताए । तर जिल्लावासीले आफूलाई जिताउने उनको विश्वास छ । ५ वर्षका लागि आफूले मत माग्ने भन्दै उनले भने, ‘राष्ट्रिय स्तरमा जुम्लाको उपस्थिति देखाउन सकिनँ भने अहिले जो मेरो प्रतिद्वन्द्वी हुनुहुन्छ, उहाँलाई नै भोट हाल्ने मेरो प्रतिवद्धता छ ।’
प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको जुम्लामा यसअघि माओवादीबाट २२ हजार १ सय ७३ मत ल्याएर गजेन्द्रबहादुर महत विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार मतले हराएका थिए ।
राप्रपा नेताहरुका अनुसार देशभरबाट उम्मेदवारहरुको नाम सिफारिस गर्न भनिएको छ । जसमा पार्टीको जुम्ला जिल्ला कार्यसमितिले पनि शाहीको मात्र नाम सिफारिस गरेको थियो । सरकारले मंसिर चार गतेलाई प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेद्वारी घोषणा पनि शुरु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies