
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा मंगलबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सबै प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले प्राविधिक काम लगभग सम्पन्न भइसकेको र कुनै अवरोध नआए दुई दिनभित्र नतिजा सार्वजनिक गरिने बताइन् । उनका अनुसार अहिले रुजु तथा अन्तिम प्राविधिक परीक्षणको काम भइरहेको छ ।
यसैबीच, परीक्षा नियन्त्रक टुकराज अधिकारीले पनि नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनले सूचना प्रविधि (आइटी) सम्बन्धी काम पूरा भएपछि बोर्ड बैठक बोलाइने र त्यसपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने बताए ।
उनका अनुसार यस वर्ष उत्तरपुस्तिका परीक्षण प्रणालीमा परिवर्तन गरिएकाले नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको हो । यसपटक विद्यार्थीले परीक्षा दिएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । शिक्षकहरूको सक्रिय सहभागिताका कारण मूल्यांकन प्रक्रिया छिटो सम्पन्न भएको बोर्डको भनाइ छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी थिए ।