२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

भू-गोल र सडक संरचनाको कमजोरीले दुर्घटना बढेको आईजीपी कार्कीको दाबी 

Nada
२०८३ वैशाख २७ गते १७:१९
Shares
भू-गोल र सडक संरचनाको कमजोरीले दुर्घटना बढेको आईजीपी कार्कीको दाबी 

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशको भौगोलिक जटिलता र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढ्दै गएको बताएका छन् ।

ncell

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जटिल भू–गोलसँगै इन्जिनियरिङ मापदण्ड नपुगेका तथा जथाभाबी निर्माण गरिएका सडक संरचनाले दुर्घटनाको सम्भावना बढाएको स्पष्ट पारे ।

आईजीपी कार्कीका अनुसार सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै चिन्ताजनक बन्दै गएको छ । उनले दैनिक औसतमा करिब आठ जनासम्मको ज्यान जाने अवस्था सिर्जना हुनु गम्भीर राष्ट्रिय समस्याका रूपमा देखा परेको उल्लेख गरे ।

उनले स्थानीय तहदेखि विभिन्न निकायसम्मको समन्वयबिना बनाइएका ग्रामीण सडकहरू, ‘डोजर क्रान्ति’का नाममा जथाभाबी खोलिएका बाटाहरू र कमजोर प्राविधिक मापदण्डले दुर्घटनामा योगदान पुर्‍याइरहेको बताए । यस्ता संरचनालाई इन्जिनियरिङ दृष्टिकोणबाट पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्कीले जलवायु परिवर्तनका कारण उत्पन्न बाढी र पहिरो जस्ता विपद्ले पनि सडक सुरक्षा चुनौती बढाएको उल्लेख गर्दै विकास निर्माणका मोडेलबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनका अनुसार सवारी दुर्घटना राज्य, यातायात व्यवसायी, श्रमिक संगठन तथा आम नागरिक सबैको साझा सरोकारको विषय भएकाले यसको न्यूनीकरणका लागि सामूहिक जिम्मेवारी आवश्यक छ ।

महानिरीक्षक कार्कीले पछिल्ला वर्षहरूमा मौसम परिवर्तन र जलवायु असरका कारण नेपालसहित विश्वभर दुर्घटनाको दर बढ्दै गएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना न्यूनिकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

विशेष गरी चाडपर्वका समयमा हुने ठूला दुर्घटनाले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै मुलुकलाई आर्थिक रूपमा समेत गम्भीर असर पार्ने गरेको उनले स्मरण गराए ।

ताजा खबर

सम्बन्धित खबर