
काठमाडौँ : नेपाली कांग्रेसले कर्णाली प्रदेश केन्द्रित दुई दिने प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने भएको छ । पार्टीको विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते उक्त भेला आयोजना गर्न लागिएको हो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने भेलामा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचनपछिको समीक्षा, संगठन सुदृढीकरण तथा सुशासनसम्बन्धी विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्लाका सभापतिहरू, संघीय संसद् सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहने बताइएको छ ।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेका अनुसार भेलामा प्रतिनिधिसभा निर्वाचनको वस्तुगत समीक्षा, संगठनात्मक कमजोरी पहिचान तथा पार्टीभित्र अनुशासन र आन्तरिक एकता मजबुत बनाउने विषयमा छलफल हुनेछ ।
त्यसैगरी प्रदेश तथा स्थानीय तहका सरकारले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलका विषयमा पनि विस्तृत बहस गरिनेछ । बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत सुधार, संगठन शुद्धीकरण तथा नेतृत्व र जनप्रतिनिधिबीच साझा धारणा विकासमा विशेष जोड दिइने जनाइएको छ ।
भेलामा सुशासन, पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट कार्यान्वयनका प्राथमिकतामाथि समेत कार्ययोजना तयार गरिने बताइएको छ । साथै नागरिकमैत्री बजेट, समावेशी विकास र पार्टी–जनप्रतिनिधिबीच समन्वय प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने आयोजकको भनाइ छ ।
दुई दिने भेलापछि ‘सुर्खेत घोषणापत्र’ सार्वजनिक गर्दै कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनसम्बन्धी पार्टीको औपचारिक धारणा प्रस्तुत गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।