जंग रावल/मध्यान्ह
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा रहेको खेलकुद कभर्डहल ५ वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य अधुरै रहेको कभर्डहल निर्माणका लागि ठेक्का भएको ५ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायको चासो नहुँदा अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा खेलाडीहरुलाई खेल खेल्न असहज भइरहेको छ ।
५ वर्ष अगाडि दुई वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म निर्माण प्रकिया अगाडि नबढेको स्थानीयले वताएका छन् । हाल स्थानीय पूर्वाधार अन्तर्गत सांसद लालबहादुर थापाको सांसद विकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट विनियोजन भएको खेलकुद विकास समिति बाजुराका निवर्तमान अध्यक्ष राकेश थापाले बताएका छन् ।
बजेट आएर निर्माणको टेन्डर र सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि ठेकेदारले बेवास्ता गरेकोले खेलकुद कभर्डहल अलपत्र परेको निवर्तमान अध्यक्ष थापाको आरोप छ । निवर्तमान अध्यक्ष थापाको कार्याकालमा निर्माण कार्य शुरु भएको कभर्डहल अहिलेसम्म बनेको छैन । स्थानीयले भने बडिमालिका नगरपालिका र खेलकुद विकास समितिको चरम लापरबाहीले अहिलेसम्म काम हुन नसकेको वताएका छन् ।
दुबैले ठेकेदारलाई ताकेता नगर्नु र अर्को उनीहरुले नै बेवास्ता गरेकोले निर्माण कार्य अलपत्र रहेको स्थानीयको आरोप छ । बडीमालिका नगरपालिकाले सांसद विकास कोषको जिम्मा लिएको भए पनि नगरपालिकाले बेवास्ता गरेको बताइएको छ ।
८ वर्षपछि खेलकुद विकास समितिका पदाधिकारी भने परिवर्तन भएका छन् । समितिका निवर्तमान अध्यक्ष भन्छन्, ‘मेरो कार्याकालमा राम्रो बजेट छुट्याइएन । केही झिनोमसिनो बजेट छु्ट्याइन्थ्यो, जुन खेलाडीहरुको व्यवस्थापनमै ठिक्क हुन्थ्यो ।’
जिल्लाको सदरमुकाममा रहेको खेलकुद कभर्डहल निर्माणका लागि छुट्याइने बजेट भने कुनै निकायबाट जिल्लासम्म नपुगेको उनले बताए । बडीमालिका नगरपालिकाभित्रको संरचनामा नगरपालिकाले लगानी गर्नुपर्ने भए पनि सासंद विकास कोषको बजेटलाई कार्यान्वयन गर्न नसकेको नागरिक अगुवाहरुको भनाइ छ ।
बडिमालिका नगरपालिकाका प्रमुख पदम बढुवालले खेलकुद विकास समितिले निकालेको टेन्डरको कामको ढिलाइले काम नभएको बताए । पहिला खेलकुदको ठेकेदारको काम भएको र त्यसपछि नगरपालिकाको ठेकेदारको काम रहेको उनले बताए ।
बहुउद्देश्यीय कभर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिँदा वर्षौंदेखि खेलकुद कभर्डहल अलपत्र परेको छ । करोडौं लगानी गरी निर्माणाधीन अवस्थामा रहेको कभर्डहल अहिले खच्चड तथा बाख्रा चरिचरनमा परिणत भइरहेको छ ।
संघ र प्रदेशबाट कभर्डहल निमार्णका लागि भन्दै वर्षेनी बजेट आइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको बहुचर्चित ऐतिहासिक रिठा गडा मिचेर बनाइने भनिएको कभर्डहल अहिले काम न काजको बनेको छ । उक्त कभर्डहल अहिले फेसबुक संजालमा भने भाइरल बनेको छ ।
वि.सं. २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कभर्डहल निर्माणको शिलान्यास गरेका थिए भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेका थिए ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको कभर्डहल पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने प्राविधिकहरुले अनुमान गरेका थिए । बीचमा खेलकुद परिषदबाट ४० लाख रकम पनि लगानी भएको छ । तर त्यो बाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा कभर्डहल अलपत्र अवस्थामा पुगेको छ । कर्भडहल अलपत्र रहेकोमा खेलाडीहरुले दुःख व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies