
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भने बीचैमा उठेर हिँडेका छन् । एक घण्टा १० मिनेट लगाएर पौडेलले नीति तथा कार्यक्रम वाचन गरिसक्दा शाहको कुर्सी खाली थियो । राष्ट्रप्रमुखले सरकारको कार्यक्रम पेस गरिसकेपछि प्रधानमन्त्रीले बिदाइ गर्ने चलन थियो । तर राष्ट्रपतिले वाचन गरिनसक्दै प्रधानमन्त्री शाह उठेर हिँडेपछि धेरैले मुखामुख गरेका थिए ।
सभामुख डिपी अर्यालले राष्ट्रपतिको बिदाइमा आ-आफ्नो ठाउँबाट उभिन सांसदहरुलाई आग्रह गरेका थिए । सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पौडेलको बिदाइ गरे ।
संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले झन्डै दुईतिहाइ बहुमत नजिकको रास्वपा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । तर प्रधानमन्त्री शाहले न संसदीय अभ्यासको मर्यादा राखे, न त राष्ट्रपतिप्रति नै सम्मान देखाएका छन् । उनको अनौपचारिक ड्रेसअपमा संसद् पुगेका थिए । नेपाली सेनाको कार्यक्रममा दौरासुरवाल र कोट लगाएर सहभागी भएका बालेन संसद्को विशेष दिनमा भने टिसर्टमाथि कोट र स्पोर्ट सुज लगाएर संसद्मा पुगेका थिए ।
प्रधानमन्त्री बालेनको यो शैलीको सामाजिक सञ्जालमा आलोचना र समर्थकले बचाउ गरिरहेका छन् । उनले संसद्लाई निरन्तर बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । निर्वाचित भएयता उनले संसद्लाई एकपटक पनि सम्बोधन गरेका छैनन् । राज्य व्यवस्था समितिको बैठकमा उपस्थित नहुँदा सोमबार मात्र नेपाली कांग्रेसले बहिस्कार गरेको छ । सोमबारकै पहिलो बैठकमा उनी अनुपस्थित रहे । उनका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले अध्यादेशहरू पेस गरेकी थिइन् ।
संसदीय अभ्यासमा मर्यादा र परम्परालाई विशेष ख्याल गरिन्छ । अर्को विशेष कारणबाहेक राष्ट्रपति संसद्मा उपस्थित हुने नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मात्र हो । त्यसैले राष्ट्रपतिलाई विशेष ढंगले संसद्मा लैजाने परम्परा छ । संसद् पुगेका राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभाका अध्यक्षले स्वागत गरे पनि बैठक कक्षबाट बाहिरसम्म लगेर प्रधानमन्त्रीले बिदाइ गर्ने परम्परा हो । त्यो परम्परा प्रधानमन्त्री बालेनले तोडेका छन् ।