काठमाडौं : नेपाल गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले मानार्थ विद्यावारिधि उपाधि प्राप्त युवा व्यवसायी तथा उद्यमी ईश्वर जिसीलाई सम्मान गरेकोे छ । युवा उमेरमै उद्यम तथा वैदेशिक रोजगार क्षेत्रमा उल्लेखनीय काम गरेकोमा व्यवसायी जिसीलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ‘ग्लोबल लिडरसीप इन बिजनेश म्यानेजमेन्ट’मा मानार्थ विद्यावारिधि प्रोफेसनल डाक्टरको प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वसचिव र नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका सल्लाहकारसमेत रहेका जिसी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उद्योग समितिका सदस्यसमेत हुन् ।
नेपालको वैदेशिक रोजगार क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय जिसी रोटरी क्लब अफ सैंबु भैंसेपाटीका प्रेसिडेण्ट, फच्र्यून हेल्थ केयरका डाइरेक्टर, एचडी ईण्डष्ट्रिज प्रा.लि.का चेयरम्यान, सेभेनस्टार डेभलपमेण्ट सेण्टरका संस्थापक अध्यक्ष, नेपाल हिमालयन एग्रिकल्चर एण्ड बी फर्मका अध्यक्ष, एच डी होलिडे ट्राभल्स एण्ड टूर्सका अध्यक्ष तथा सीईओ एवं अक्सफोर्ड इण्टरनेशनल प्रा.लि.का संचालक हुन् ।
बुधबार आयोजित सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोेलिव्युरो सदस्य एवं सञ्चारकर्मी ओम शर्माले अन्य क्षेत्रका साथै वैदेशिक रोजगारका क्षेत्रमा व्यवसायी जिसीले प्राप्त गरेको उपलब्धि व्यवसायका माध्यमबाट मुलुक र समाजमा केही नयाँ गर्न चाहने युवा व्यवसायीहरूका लागि अनुकरणीय रहेको बताए ।
मञ्चका अध्यक्ष धनलाल जैसीले मञ्चका सल्लाहकार जिसीले मानार्थ विद्यावारिधि प्राप्त गर्दा मञ्च र आम वैदेशिक रोजगार व्यवसायीहरुले गौरव महसुस गरेकोे बताए । मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले वैदेशिक रोजगार क्षेत्रको सानातिना कमजोरीलाई पक्रेर आम व्यवसाय र व्यवसायीमाथि प्रहार भइरहेको अवस्थामा मञ्चका सल्लाहकार जिसीले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेकोे उपाधिले सबैलाई उत्साहित भएर अघि बढ्ने हौसला मिलेको र आम व्यवसायीलाई खुसी तुल्याएको बताए ।
सम्मानित व्यवसायी जिसीले २२ राष्ट्रका युवा व्यवसायीलाई प्रदान गरिएको उपाधि आफुले पनि प्राप्त गर्दा आगामी दिनमा थप उत्साह, मेहनत र पारदर्शितामा आधारित भई काम गर्ने प्रेरणा मिलेको बताए । वैदेशिक रोजगार व्यवसायले नै आफूलाई अन्तर्राष्ट्रियस्तरको उपाधिका लागि योग्य बनाएको बताउँदै व्यवसायी जिसीले व्यवसायमा निरन्तरता, इमानदारिता, प्रतिवद्धता महत्वपूर्ण हुने धारणा राखे । आम व्यवसायी नम्रताका साथ सेवाग्राहीलाई उच्चतम सन्तुष्टि हुने गरी सेवा दिन तत्पर हुनुपर्ने उनको सुझाव थियो ।
व्यवसायी जिसीले वैदेशिक रोजगार क्षेत्रलाई निरन्तरता दिँदै स्वास्थ्यको क्षेत्रमा राष्ट्रले नै उपलब्धि महसुस गर्ने गरी परिणाम निकाल्न काम गरिरहेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण नयाँ खोज अनुसन्धानको प्रक्रिया जारी छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies