
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रबहादुर अधिकारीसमेत जोडिएको घुस/रिसवत सम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अदालतमा बयान फेरेको (होस्टाइल भएको) र भ्रष्टाचारजन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो ।
चन्द्र बहादुर अधिकारी जोडिएको भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा सुमित्रा कुमारी घिमिरे पुडासैनीले अनुसन्धान अधिकृतलाई सहयोग गरेको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । तर गत वैशाख ९ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा उनले अनुसन्धानका बेला गरिदिएको बयान र आरोप दाबीको प्रतिकूल हुने गरी बयान फेरेकी थिइन् ।
अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीले लिएको घुसबापतको रकमको चेक 'सुमित्रा कस्मेटिक एण्ड फेन्सी' को नाममा काटिएको पाइएको थियो । उक्त पसलकी सञ्चालक सुमित्राले चेक प्राप्त गरेपछि सटहीका लागि बैंकमा गएको र सटही नभएपछि चेक फिर्ता दिएको देखिएको स्रोतले जनाएको छ । घुस/रिसवत लिई भ्रष्टाचार गर्ने कार्यमा मद्दत पुर्याएको देखिएकाले उनलाई भ्रष्टाचारको कसुरदार ठहर गरिएको छ ।
आयोगले पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा पचास लाख रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ । आयोगले उनलाई बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी समेत गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।