
काठमाडौं : शक्तिशाली सरकारको गृह मन्त्रालय विगत तीन हप्तादेखि नेतृत्वविहीन भएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएयता मुलुकको गृहप्रशासन नेतृत्वविहीन भएको हो ।
चैत्र १३ गते सरकारको गृहमन्त्री बनेका गुरुङले वैशाख प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन् । गुरुङले पदबाट राजीनामा दिएयता प्रधानमन्त्री बालेन शाहले नै गृह मन्त्रालय सम्हाल्दै आएका छन् ।
विवादित व्यापारीसँगको सेयर साझेदारी आरोपमाथि छानबिनका लागि मार्गप्रशस्त गरेका गुरुङलाई सरकारले कुनै छानबिनको दायरामा ल्याएको छैन । केही समय बाहिर रहेर छानबिनपछि पुनः गृहकै जिम्मेवारीमा फर्कने चर्चा बाहिरिए पनि उनलाई सरकारले न छानबिन अघि बढाएको छ, नत जिम्मेवारीमा फर्काउने तयारी गरेको छ । तीन हप्तादेखि गृहजस्तो महत्वपूर्ण मन्त्रालय खाली रहँदा प्रहरी प्रशासन परिचालनलगायत काम प्रभावित बनेको छ । यद्यपि प्रधानमन्त्री बालेनले गृहको जिम्मेवारी लिएर प्रहरी प्रशासन चलाए पनि प्रभावकारी काम हुन नसकेको टिप्पणी भइरहेको छ ।
सुधनले गृहको नेतृत्व लिएको २४ घण्टामै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परे । गृहमन्त्री बनेको चार दिनमै अन्य बिचौलियासमेत पक्राउ गरेर आमरूपमा तरंग ल्याएका गुरुङको राजीनामापछि प्रहरी प्रशासनसमेत सुस्त छ ।
रास्वपाले नयाँ गृहमन्त्री छान्न विलम्ब गरिरहँदा पार्टीका १८२ जना सांसदमध्ये गृह मन्त्रालय सम्हाल्न योग्य कोही नभएको हो ? भन्ने प्रश्नसमेत उठेको छ । सरकार निर्माणअघि गृह मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा पार्टीभित्र ठुलै विवाद थियो । सभापति रवि लामिछानेले गृहमा आफ्नो टिमबाट पठाउन खोजे पनि प्रधानमन्त्री बालेनले विभिन्न व्यक्तिको नाम अघि सार्दै अन्तिम घडीमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । सभापति लामिछानेले डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहेको, तर प्रधानमन्त्री बालेन सुधनको पक्षमा अडिएपछि अन्ततः प्रधानमन्त्रीकै अडान मान्दै डिपीलाई सभामुख बनाउने सहमति भएको थियो ।
गृहमन्त्रीबाट राजीनामा दिन लगाएपछि प्रधानमन्त्रीसँग सुधनको सम्बन्ध चिसिएको रास्वपाका एक नेताले बताए । उनले भने, ‘उहाँहरूको सम्बन्ध विगतको जस्तो घनिष्ट छैन । फेरि सुधनलाई नै गृहमा फर्काउने भनिए पनि पछिल्लो समय त्यो सम्भावना टर्दै गएको छ । सुधनमाथिको छानबिनका विषयमा समेत पार्टीभित्र धेरै बहस भएको सुनिएको छैन ।’
सुधनममाथि छानबिन गर्न सरकार तत्पर नदेखिएको भन्दै विपक्षीहरूले संसद् र सडक दुुवै ठाउँबाट आवाज उठाउन थालेका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुधन गुरुङमाथि छानबिन नभएकोमा असन्तुष्टि जनाए । ‘तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपका बारेमा सरकारले छानबिन गर्न किन सकेन ? । भ्रष्टाचारको एकोहोरो आरोपबाट ‘अल्गोरिदम’मार्फत खेदाइ गर्ने, तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ?’ उनले प्रश्न गरे, ‘तत्कालीन गृहमन्त्रीमाथि लागेका आरोपको निष्पक्ष छानबिनबाट किन हच्किएको ? म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ?’
सरकारले आगामी बजेट सम्म नयाँ गृहमन्त्री नियुक्त गर्ने तयारी नभएको नेताहरूले बताएका छन् । निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथिको छानबिनमा समेत सरकार मौन छ । प्रधानमन्त्रीको निर्देशनमा गृहसचिव राजकुमार श्रेष्ठले गृह मन्त्रालय चलाइरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, प्रमुख जिल्ला अधिकारीलगायत शान्ति सुव्यवस्थासँग सम्बन्धित महत्वपूर्ण संरचनाको तालुकदार मन्त्रालयको नेतृत्व खाली रहँदा दैनिक कामकाज प्रभावकारी नभएको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।