
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् ।
सांसद सुहाङ नेपालले ठप्प रहेको चियाको निर्यातका लागि तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चिया किसान र उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाउन पनि सरकारलाई सचेत गराए ।
सरकारले किसानलाई मलको अभाव हुन दिन नहुने पनि सांसदहरूले बताएका छन् । सांसद सुनिल केसीले किसानले आवश्यक मल पाउने गरी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । उनले मेलम्चीको पानी काठमाडौंका जनताले कहिलेसम्म कुर्नुपर्ने हो ? त्यसको जवाफ दिन पनि सरकारसँग माग गरे ।
सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिए ।
बर्दियालगायतका सीमा क्षेत्रका जनताले विभिन्न खालको समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भिर भएर लाग्नुपर्ने पनि सांसद चौधरीले बताए ।