दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं, २७ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँटमा सैद्धान्तिक सहमति जुटाएको छ । सिट बाँडफाँट कार्यदलको बैठकले दलहरुबीच भागबण्डाको अनुपातबारे सैद्धान्तिक सहमति जुटाएको हो । सहमतिअनुसार, चार आधारमा दलहरुबीच सिट भागबण्डा हुनेछ ।
पहिलो, २०७४ को चुनावी नतिजा । दोस्रो, २०७४ मा पाएको समानुपातिक मत । तेस्रो, गएको स्थानीय चुनावको नतिजा र चौथो, दलहरुको संवेदनशीलता । कुन दलले कति र कहाँ सिट पाउने भन्नेबारे यो मापदण्ड निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको हो । तर यही आधारमा सिट बाँडफाँट गर्न भने सजिलो छैन ।
त्यसको कारण हो, चुनाव सजिलै जितिने भएकाले जसरी पनि टिकट लिने नेताहरुको चाहना । ०७४ को चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा गठबन्धनका नेताहरुले सजिलै जितेको नजीरले पनि नेताहरुको आकर्षण टिकटमा बढेको छ । वाम गठबन्धन भएकैले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका थिए । ०४८ देखिको कुनैपनि चुनाव नहारेका पौडेललाई एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले हराएका थिए । शेखर कोइरालालाई लालबाबु पण्डितले हराए ।
गठबन्धनको समर्थनमा राप्रपाका राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएका थिए भने राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराए । गठबन्धनकै कारण एमाले र माओवादी केन्द्रका थुप्रै नेताहरुले जितेका थिए । अहिले एमालेविरुद्ध कांग्रेस नेतृत्वमा गठबन्धन बनेको छ । यसपटक एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि कांग्रेस नेतृत्वकै गठबन्धनमा छ ।
तसर्थ, गठबन्धनका तर्फबाट टिकट पाएमा चुनाव जितिने आँकलनका कारणले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा टिकटको आकर्षण बढ्दो छ । लगातार चुनाव हार्दै आएका नेताहरुमा पनि जितिने आत्मविश्वास बढी देखिन्छ । तसर्थ पनि उनीहरु गठबन्धनको पक्षमा वकालत गर्दै आएका छन् ।
तर यसको उल्टो एमालेमा भने चुनावप्रति नेताहरुमा इनिच्छा देखिन्छ । गएको स्थानीय चुनावमा गठबन्धनमा उत्साहजनक मत खसेकाले पनि एमालेका शीर्ष नेताहरु नै चुनाव नलड्ने मनसायमा देखिन्छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा बादल चुनाव नलड्ने मनसायमा रहेको एक नेता बताउँछन् ।
पदाधिकारी मध्ये उपमहासचिव विष्णु रिमाल त यसअघि पनि चुनाव लड्ने गरेका थिएनन् । यसपटक झनै प्रतिकुल परिस्थिति रहेकाले उनी चुनाव नलड्ने मनसायमा छन् । चुनाव नै नजितेपनि लगातार लाभको पद पाएकाले पनि उनी यसपटक जोखिम उठाउन तयार छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies