
बझाङ : बझाङको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याको सरुवा भएको छ । करिब २० महिनासम्म थलारा गाउँपालिकामा सेवा दिएका पाध्याको नियमित सरुवा संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत गरिएको हो ।
बुधबार गाउँपालिकामा आयोजित विदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रममा उनलाई औपचारिक रूपमा बिदाइ गरिएको छ । शाखा अधिकृतबाटै गाउँपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी सम्हालेका पाध्याले आफ्नो कार्यकालमा प्रशासनिक सुधार, वित्तीय अनुशासन, मितव्ययिता तथा सुशासन प्रवद्र्धनमा केन्द्रित रहेर विभिन्न कार्यक्रम अघि बढाएको दाबी गरेका छन् ।
विदाइ कार्यक्रममा उनले आफ्नो कार्यकाललाई ‘सुशासन सुधारको प्रयास’ भन्दै २० बुँदामा विभिन्न उपलब्धिहरू सार्वजनिक गरेका थिए ।
उनका अनुसार सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली लागू गरेर जिन्सी सामग्रीको पूर्ण डिजिटल अभिलेख, सवारी साधनको लगबुक प्रणाली, इन्धन व्यवस्थापनमा कडाइ, तथा अनलाइन माग प्रणाली लागू गरिएको छ ।
त्यसैगरी सार्वजनिक खरिदमा ई–विडिङ, भ–न्ए प्रणाली, प्रतिस्पर्धात्मक कोटेशन प्रक्रिया, निर्माण कार्यमा पारदर्शिता, समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारमाथि जरिवाना व्यवस्था, तथा ई–हाजिरी प्रणाली कडाइका साथ लागू गरिएको उनले उल्लेख गरेका छन् ।
पालिकामा आफ्नै सवारी साधन व्यवस्थापन, इन्धन स्टोर प्रणाली, भ्रमण भत्ता नियन्त्रण, बजेट कार्यान्वयन सुधार, तथा राजस्व संकलनमा वृद्धि जस्ता काम पनि गरिएको बताइएको छ ।
त्यसैगरी कार्यालयका सबै सूचना, बजेट, कानुन, कार्यविधि तथा फारामहरू वेबसाइटमार्फत सार्वजनिक गरी पारदर्शिता बढाइएको दाबी गरिएको छ ।
विदाइ कार्यक्रममा उनले कर्मचारी तथा जनप्रतिनिधि टिमको सहकार्यबिना सुशासन सुधार सम्भव नहुने भन्दै सबैप्रति आभार व्यक्त गरे ।
स्थानीय तहमा वित्तीय अनुशासन, बेरुजु नियन्त्रण र सेवा प्रवाह सुधारका लागि अझै धेरै काम बाँकी रहेको उनले बताएका छन् ।