
काठमाडौं : संघीय संसद्का सचिव हर्कराज राईलाई हटाएर सभामुख डिपी अर्यालले प्रकाश अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरे । सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अधिकारीलाई संसद्को सचिवमा नियुक्त गरिसकेका छन् ।
त्यसअघि मंगबार राष्ट्रपति पौडेलले संसद्का सचिव राईलाई सभामुखको सिफारिसमा पदमुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १०६ को उपधारा १ मा सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभामा सचिव नियुक्तिसम्बन्धी व्यवस्था छ । त्यसमा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’
अधिकारी सेवानिवृत्त उपसचिव हुन् । संसद्को अघिल्लो कार्यकालमा अर्याल दुई पटक श्रम तथा रोगगार मन्त्री बनेका थिए । उनले दुवैपटक अधिकारीलाई नै आफ्नो स्वकिय सचिव बनाएका थिए । अहिले उनैलाई संसद्मा नियुक्ति दिलाउन सचिव राईलाई हटाएका हुन् ।
पहिले सचिवालयमा रहेर काम गरेका व्यक्तिलाई नै संसद्मा सचिव नियुक्ति गर्न लगाएकोमा रास्वपाकै कतिपय नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘राजदूतमा प्रतिस्पर्धा गर्ने कुरा हुन्छ, संसद्को सचिव नियुक्तिमा त्यस्तो प्रतिस्पर्धा गर्न केले छेक्यो ?’ एक केन्द्रीय नेताले मध्यान्हसँग भने, ‘आफ्नै पूर्व पिएलाई नियुक्ति गर्नु त्यसै पनि राम्रो देखिएन ।’