२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शारदा नगरपालिकामा चार 'स्मार्ट शौचालय' सञ्चालन

Nada
प्रदीप मगर
२०८३ जेठ १ गते १२:३९
Shares
शारदा नगरपालिकामा चार 'स्मार्ट शौचालय' सञ्चालन

सल्यान : सल्यानको शारदा नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा चार वटा अत्याधुनिक 'स्मार्ट शौचालय' सञ्चालनमा ल्याएको छ । सार्वजनिक शौचालयलाई सफा, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित निर्माण गरिएका यी शौचालयले नगरको सरसफाइ व्यवस्थापन र सार्वजनिक सेवामा नयाँ अभ्यासको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

ncell

वडा नं. १ शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालयमा निर्माण गरिएको स्मार्ट शौचालयको बिहीबार औपचारिक उद्घाटन गर्दै नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक सार्वजनिक शौचालयको अवधारणालाई नगरभर विस्तार गरिने बताए । उनले सार्वजनिक स्थान तथा विद्यालयहरूमा गुणस्तरीय सरसफाइ सेवा विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

नगरपालिकाका अनुसार परम्परागत सार्वजनिक शौचालयलाई दुर्गन्धित, अस्वच्छ र आधारभूत सुविधाविहीन स्थानका रूपमा बुझिने धारणा परिवर्तन गर्न स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो । आधुनिक प्रविधि र सरसफाइ व्यवस्थापनलाई जोड दिँदै निर्माण गरिएका यी शौचालय प्रयोगकर्तामैत्री तथा स्वास्थ्य सुरक्षामुखी रहेका छन् ।

हाल स्मार्ट शौचालय श्री त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ, श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मार्के तथा अटो भिलेज पार्कमा र शिवजन माध्यमिक विद्यालय शीतलपाटीमा सञ्चालन रहेका छन् । यी संरचनाले विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणलाई स्वच्छ र सुरक्षित वातावरणमा सेवा प्रदान गरिरहेका छन् ।

नगरपालिका तथा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालयमा करिब १ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्मार्ट शौचालयलाई विद्यालयस्तरमै नमुना पूर्वाधारका रूपमा हेरिएको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख भण्डारीले यस्ता संरचनाले विद्यालयको सरसफाइ, स्वास्थ्य तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयकी प्रधानाध्यापक गायिका वि.एम.ले आधुनिक प्रविधियुक्त शौचालय सञ्चालनपछि विद्यार्थी, शिक्षक तथा अभिभावक उत्साहित भएको बताइन् । उनका अनुसार करिब १३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्वच्छ र व्यवस्थित शौचालयको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो । “अन्य शौचालयको तुलनामा यो धेरै सहज, सफा र व्यवस्थित छ। यसले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्नेछ,” उनले भनिन ।

विद्यालयकी विद्यार्थी सुनिता बोहराले स्मार्ट शौचालय प्रयोगपछि आफू निकै खुसी भएको बताइन् । विशेषगरी छात्राहरूका लागि सेनिटरी प्याड डिस्पोज गर्ने व्यवस्थाले आफू प्रभावित भएको उनको भनाइ छ । “यस्ता सुविधा राम्रो होटल वा रेस्टुरेन्टमा मात्र देखेको थिएँ, अब आफ्नै विद्यालयमा यस्तो आधुनिक र व्यवस्थित शौचालय पाउँदा धेरै खुसी लागेको छ,” उनले भनिन् ।

स्मार्ट शौचालयका विशेषता

स्मार्ट शौचालयमा आधुनिक प्रविधिको व्यापक प्रयोग गरिएको छ । धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिएकाले हातले छुनु नपर्ने व्यवस्था गरिएको छ । यसले सरसफाइ कायम राख्न सहयोग गर्नुका साथै पानी तथा विद्युत्को अनावश्यक प्रयोगसमेत कम गर्ने अपेक्षा गरिएको छ ।

महिलाहरूका लागि सेनिटरी प्याड भेन्डिङ मेसिन, प्रयोग गरिएका प्याड सुरक्षित व्यवस्थापन गर्ने मेसिन, हात सुकाउने उपकरण तथा प्रशस्त पानीको सुविधा उपलब्ध गराइएको छ । साथै, शौचालयलाई महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाइएको नगरपालिकाले जनाएको छ ।

दिगो पानी व्यवस्थापनलाई ध्यानमा राख्दै सबै स्मार्ट शौचालयको छानाबाट आकाशे पानी संकलन गर्ने प्रणालीसमेत जडान गरिएको छ । यसले पानी संरक्षण तथा वातावरणमैत्री अभ्यासलाई प्रवर्धन गर्ने विश्वास लिइएको छ ।

नगरपालिकाले आगामी दिनमा सार्वजनिक सेवा केन्द्र, बजार क्षेत्र तथा थप विद्यालयहरूमा समेत यस्ता स्मार्ट शौचालय विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर