२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जनाका अवस्था गम्भीर

Nada
२०८३ जेठ १ गते १५:२२
Shares
जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जनाका अवस्था गम्भीर

काठमाडौँ : जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना-१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् ।

ncell

सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए । आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरू घटनाबारे थाहा पाएका थिए । त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।

“हात्तीबाङ स्कुल नजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भरतपुर अस्पताल ल्याएको छु, च्याउ खाँदा एक जनाको निधन भइसकेकाले दुई जनालाई बचाउन अस्पताल पुर्‍याउन सफल भएका छौँ, उनीहरूको उपचार भइरहेको छ,” प्रधानाध्यापक मगरले भने ।

बिरामी परेकामध्ये अहिले १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचारमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा. प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए । 

मंगलबार बुबा श्यामबहादुर र आमा पदममाया चेपाङसँगै तीन जना बच्चाले पनि च्याउ खाएका थिए । वडाध्यक्ष सन्तबहादुर मगरले एक जनाको निधन भएपछि अरु दुई जनालाई हतारहतार अस्पताल पठाइएको बताए । अस्पतालले घरमै रहेका बाबुआमालाई पनि अस्पताल ल्याउन भनेको छ । ठूलो मान्छेलाई पछि लक्षण देखा पर्ने भएकाले बाबुआमालाई ल्याउन लागिएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक मगरले जानकारी दिए ।

डा. प्रमोद पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा भन्ने विष हुन्छ । यसले कलेजोमा असर गर्छ र केलेजो फेल हुने समस्या हुन्छ । बिस्तारै दिमागमा असर गर्ने, बेहोस हुने, मिर्गौलामा पनि असर गर्ने हुँदा बिरामीको मृत्यु हुने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर