२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

Nada
२०८३ जेठ २ गते १२:२२
Shares
नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ : बंगलादेशस्थित नेपाली राजदूतावासले बंगलादेश-नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल-२०२६’ आयोजना गरेको छ ।

ncell

नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

त्यस अवसरमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवर्द्धन गर्नुका साथै नेपाल र बंगलादेशबीच विद्यमान सांगीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने । उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे । 

कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बंगलादेशका जनतालाई अझ नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए।

बंगलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए । 

साथै, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकार, बंगलादेश शिल्पकला एकेडेमीका कलाकार तथा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सोरठी, सङ्ख्या, लाठी, सालैजो–झ्याउरे तथा कौरालगायत नेपाली मौलिक नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो । बंगलादेशी कलाकारले नेपाली नृत्य र नेपाली गजलका साथै आफ्ना लोकनृत्य तथा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संस्कृति तथा पाककला पारखी, नेपालका शुभेच्छुक, सञ्चारकर्मी तथा बङ्गलादेशस्थित नेपाली समुदायको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर