
काठमाडौं : विश्वविख्यात नेपाली आरोही कामिरिता शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई पुनः सुधार गरेका छन् ।
पर्यटन विभाग तथा सेभेन समिट ट्रेक्सका अनुसार ५६ वर्षीय कामिरिता आइतबार बिहान १०ः१२ बजे सगरमाथाको शिखरमा पुगेका हुन् । सफल आरोहणपछि उनी आफ्नो टोलीसहित आधार शिविरतर्फ फर्किने क्रममा रहेका छन् ।
सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका कामिरितालाई ‘एभरेष्ट म्यान’को उपनामले समेत चिनिन्छ । सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा सुरु गरेका उनले तीन दशकभन्दा लामो अवधिमा पर्वतारोहण क्षेत्रमा असाधारण योगदान दिएका छन् ।
पर्यटन विभागका आधार शिविरमा खटिएका उपसचिव खिमलाल गौतमका अनुसार सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले आफ्नो अनुभव, साहस र समर्पणमार्फत नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएका छन् ।
यसैबीच, ‘माउन्टेन क्विन’का नामले परिचित लाक्पा शेर्पाले पनि आइतबार बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फ नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।
संखुवासभाको मकालु गाउँपालिका–२ मा सन् १९७३ मा जन्मिएकी लाक्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन् ।
पर्यटन विभागले एउटै दिन नेपाली पर्वतारोहण इतिहासमा दुई महत्वपूर्ण विश्व कीर्तिमान कायम भएको उल्लेख गर्दै यी उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर अझ प्रतिष्ठित र गौरवपूर्ण बनाउने विश्वास व्यक्त गरेको छ ।