
काठमाडौं : सोलुखुम्बुको दुर्गम बस्तीमा हुर्किएको एउटा बालकले कहिल्यै कल्पना पनि गरेको थिएन- एक दिन विश्वकै सर्वोच्च शिखरमा उभिएर आफ्नो प्रिय खेलाडीको तस्बिर फहराउने । तर जीवनले उनलाई सपनाभन्दा धेरै कठिन परीक्षा दियो । कहिले दुर्घटनाले खुट्टा भाँचियो, कहिले शरीरले नै साथ छाड्यो । अन्ततः दुवै मिर्गौला निष्क्रिय भएपछि त उनी मृत्युको ढोकासम्म पुगिसकेका थिए ।
तर, पेम्बा शेर्पाको कथा त्यहीँ रोकिएन ।
तीन वर्षसम्म अस्पताल, डायलासिस र पीडाबीच बितेको जीवनपछि उनले फेरि नयाँ सास पाए- बुबाले दिएको एउटा मिर्गौलासँगै । त्यही दोस्रो जीवनको बलमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा चुमे र हातमा समातेका थिए विश्व फुटबलका हस्ती लियोनल मेस्सीको तस्बिर अंकित ब्यानर ।
३८ वर्षीय पेम्बाले आफूले सगरमाथाको चुचुरोमा पुर्याएको उक्त ब्यानर एक दिन मेस्सीलाई नै भेटेर उपहार दिने चाहना सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो यो सपना संसारभर पुर्याइदिन आग्रहसमेत गरेका छन् ।
पेम्बाका अनुसार मेस्सीसँग उनको भावनात्मक सम्बन्ध सन् २००६ बाट सुरु भयो । त्यो समय उनी पहिलोपटक गाउँबाट काठमाडौं आएका थिए । विश्वकप फुटबलको माहोल चलिरहेको थियो । टेलिभिजनको पर्दामा उनले अर्जेन्टिनी स्टार मेस्सीलाई देखे- शान्त स्वभाव, अद्भूत खेलकौशल र निरन्तर संघर्ष गर्ने चरित्र ।
त्यही दिनदेखि उनको मनमा एउटा अनौठो सपना पलायो- 'एक दिन सगरमाथाको शिखरमा मेस्सीको तस्बिर पुर्याउने ।'
त्यो सपना पूरा गर्न भने उनलाई दुई दशकभन्दा बढी समय कुर्नुपर्यो ।
हिमाल चढ्ने सपना बोकेको युवाको जीवनमा अचानक स्वास्थ्य संकट आयो । २०७६ सालतिर उनका दुवै मिर्गौलाले काम गर्न छाडे । त्यसपछि सुरु भयो डायलासिसको कठिन जीवन ।
हप्तामा तीन–तीन पटक अस्पताल पुग्नुपर्ने, शरीरमा पाइप जोडेर रगत सफा गराउनुपर्ने अवस्था । कहिलेकाहीँ उनलाई आफ्ना सपना मेसिनकै आवाजसँगै हराउँदै गएको महसुस हुन्थ्यो ।
उनले आफ्ना अनुभूति सुनाउँदै भनेका छन्, 'डायलासिस गराइरहँदा कहिले काहीँ लाग्थ्यो- अब मेरो जीवन यही अस्पतालको बेडमै सीमित हुन्छ ।'
तर त्यो निराशाको बीचमा उनका बुबा आशाको सहारा बने । बुबाले आफ्नै मिर्गौला दान गरेपछि २०७९ कात्तिक २ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उनको सफल प्रत्यारोपण भयो ।
त्यसपछि पेम्बाले जीवनलाई फेरि नयाँ ढंगले हेर्न थाले ।
मिर्गौला प्रत्यारोपण भएको केही समयपछि कतार विश्वकप सुरु भयो । अस्पतालबाट फर्किएको कमजोर शरीर लिएर उनले टेलिभिजनमा मेस्सीको विश्वकप यात्रा हेरे ।
वर्षौंको असफलता र आलोचनापछि अर्जेन्टिनाले उपाधि जित्दा मेस्सी भावुक हुँदै रोइरहेका थिए । त्यो दृश्यले पेम्बालाई गहिरोसँग छोयो ।
उनी सम्झन्छन्, 'यदि मेस्सीले यति धेरै हारपछि पनि धैर्य नगुमाई विश्वकप जित्न सक्छन् भने, मैले किन आफ्नो सपना छोड्ने ?'
त्यही क्षणबाट उनले फेरि हिमालतर्फ फर्किने निर्णय गरे ।
धेरैले उनलाई सावधान गराए । प्रत्यारोपण गरिएको शरीर लिएर सगरमाथा चढ्नु जोखिमपूर्ण रहेको सुझाव दिए । तर पेम्बाले आफ्नो शरीरभन्दा बलियो इच्छाशक्तिमा विश्वास गरे ।
अन्ततः २०८२ वैशाख ३० गते बिहान उनले सगरमाथाको सफल आरोहण गरे । उनी मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने पहिलो नेपाली आरोही बने ।
शिखरमा पुगेपछि उनले मेस्सीको तस्बिर भएको ब्यानर फहराए । त्यो क्षण उनका लागि केवल व्यक्तिगत सफलता थिएन, जीवनसँग लडिरहेका हजारौं बिरामीहरूको प्रतिनिधित्व थियो ।
उनले भनेका छन्, 'म त्यो दिन केवल आरोही थिएनँ । अंग प्रत्यारोपणपछि पनि सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश बोकेको एउटा उदाहरण बनेको महसुस भयो ।'
सगरमाथाको शिखरमा पुर्याएको ब्यानर अहिले पेम्बाका लागि सबैभन्दा अमूल्य सम्झना बनेको छ । अब उनी त्यो ब्यानर मेस्सीलाई नै हस्तान्तरण गर्ने सपना देखिरहेका छन् ।
उनको चाहना छ- आउँदो जन्मदिनमा मेस्सीलाई भेटेर त्यो ब्यानर उपहारस्वरूप दिने ।