२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड

Nada
२०८३ जेठ ३ गते १४:३९
Shares
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड

काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान पुनरावलोकनका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा विशेष सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

ncell

काठमाडौँमा प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनका अनुसार उक्त आयोगमा पूर्वप्रधान न्यायाधीश वा संविधान क्षेत्रका अनुभवी विज्ञको नेतृत्व आवश्यक छ, जसले संसद्भित्र रहेका राजनीतिक दल मात्र नभई बाहिरका सरोकारवालासमेतलाई समेटेर सुझाव तयार गर्नुपर्ने हुन्छ ।

केसीले संविधान कुनै एक राजनीतिक दलको इच्छा वा दृष्टिकोणमा मात्र सीमित हुनु नहुने भन्दै यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरी र व्यवहारिक चुनौतीलाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको बहस आवश्यक रहेको बताए ।

उनले यसबारे पार्टी नेतृत्वलाई समेत सुझाव दिइसकेको उल्लेख गर्दै अब पार्टीले आगामी कदम कसरी अघि बढाउँछ भन्नेबारे आफू अनिश्चित रहेको टिप्पणी गरे ।

देशभित्र राजनीतिक तनाव बढ्दै गएको उल्लेख गर्दै उनले राष्ट्रिय एकताको आवश्यकता अझ बढी महत्त्वपूर्ण बनेको धारणा राखे । उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय राजनीतिक द्वन्द्वको प्रभाव पर्ने संवेदनशील अवस्थामा पुगेको जस्तो देखिन्छ, जसले देशलाई थप सतर्क र एकताबद्ध हुन बाध्य बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर