
काठमाडौँ : नेपाली कांग्रेसले आदिवासी तथा जनजाति समुदायको नेतृत्व र राजनीतिक प्रतिनिधित्वलाई प्रभावकारी रूपमा सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
पार्टीकी उपसभापति पुष्पा भुसालले पार्टी मुख्यालय सानेपा पुगेको नेपाल आदिवासी जनजाति महासंघको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । महासंघका पदाधिकारीहरूले आफ्नो माग र अडानसम्बन्धी पत्र काँग्रेस नेतृत्वलाई बुझाएका थिए ।
छलफलका क्रममा उपसभापति भुसालले नेपालको संविधानले समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई राज्य संरचनाको आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको उल्लेख गर्दै आदिवासी जनजातिको सहभागिता राज्य संरचना र पार्टी दुवै तहमा अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।
उनले कांग्रेसले संसद् तथा सरकार दुवै स्तरमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सक्रिय पहल गर्ने बताउँदै संविधान संशोधनलगायत नीतिगत विषयमा पनि स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्ने संकेत दिइन् ।
भुसालका अनुसार समावेशी राज्य संरचनाबिना राष्ट्रिय एकता र सामाजिक सन्तुलन पूर्ण हुन नसक्ने भएकाले आदिवासी जनजातिका सरोकारलाई पार्टीले प्राथमिकतामा राखेको छ ।
त्यस अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजाति समुदायका मागहरूलाई राजनीतिक दल र सरकार दुवै तहमा गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।