२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हेटौंडामा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालन

Nada
२०८३ जेठ ३ गते २०:१८
Shares
हेटौंडामा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालन

मकवानपुर : हेटौंडा–४ स्थित स्कुल रोडमा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालनमा आएको छ । 

ncell

एकेडेमीको उद्घाटन पूर्व सांसद, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीका बागमती प्रदेशकी कार्यकारी निर्देशक शान्ति लामाले संयुक्त रूपमा रिबन काटेर गरेका छन् । 

एकेडेमीका सञ्चालक तथा युवा उद्यमी जगदीश बिडारीले विदेशमा आठ वर्ष काम गरेपछि हेटौंडामा विगत चार वर्षदेखि जेएन्डबी कफी सञ्चालन गर्दै आएका छन् । 

उनले सिटीइभिटीसँगको समन्वयमा बारिष्टा तालिम र आफ्नो स्व–उद्यमको लागि कफि शप सञ्चालनमा ल्याएसँगै धेरैलाई सीप र रोजगारी  बढाउन सकेको बताए । 

व्यवसायसँगै उनले सानो लगानीमै स्वदेशमा क्याफे सञ्चालन गरेर केही रोजगारी समेत सृजना गरेका छन् । विदेशमा गर्ने मेहनत स्वदेशमै केही आम्दानी गर्नका साथै केही रोजगारी सृजना गर्न सफल हुनुले  आत्मसन्तुष्टी बढाएको सञ्चालक बिडारीले बताए । 

साथै बारिस्टा लगायतका सीप युवाहरूबीच लोकप्रिय बन्दै गएको र वैदेशिक रोजगारीमा जान चाहनेका लागि समेत उपयोगी भएकाले करिब १५ लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याइएको जानकारी दिए । 

उद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता बिडारीले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्नु सकारात्मक काम भएको बताए । उनले यस्ता युवाहरुलाई समाजले प्रोत्साहन गर्नुपर्ने र स्वउद्यम नै सफलताको कडि भएको बताए । 

कार्यक्रममा सिटीइभिटीका बागमती प्रदेशका  कार्यकारी निर्देशक शान्ति लामाले जे एन्ड बि कफी बार परिवारप्रति हार्दिक धन्यवाद गर्दै नयाँ यात्राले सफलता, आत्मीयता र सुगन्धित सम्भावनाको निरन्तर विस्तार पाओस् भन्ने शुभकामना दिइन् ।  

एकेडेमीमा बारिस्टा, बारटेन्डर, सुशी, बेकरी, पिज्जा, कुकिङ, हाउस किपिङ, तन्दुर, बर्गर र स्यान्डविच सम्बन्धी तालिम सञ्चालन गरिनेछ । तालिम अवधि १५ दिनदेखि ३ महिनासम्म रहने बताइएको छ ।

सञ्चालक बिडारीका अनुसार सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर पनि सीपमूलक तालिम सञ्चालन गर्न सकिनेछ । साथै वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सीपसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिनेछ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर