
काठमाडौं : तीसकै दशकदेखिका सशक्त कथाकार गोविन्द गिरी प्रेरणाको पछिल्लो कथाकृति ‘अ–विधवा’माथि एक कार्यक्रमकाबीच विमर्श सम्पन्न भएको छ ।
इम्प्रिन्ट पब्लिसर्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.दयाराम श्रेष्ठ रहेका थिए । अन्य आमन्त्रित व्यक्तित्वहरूमा समालोचकद्वय डा.अशोक थापा र डा.ज्ञानु अधिकारी तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ रहेका थिए ।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.दयाराम श्रेष्ठले गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको पहिलो लामो कथासंग्र्रह ‘गन्तव्य गणबहाल’ का आठवटै कथाहरू लामो संरचनामा रहेको र ‘अ–विधवा’का आफूले पढेका दुई कथाहरू पनि लामो कथाको संरचनामै रहेको पाएको बताए ।
लामो कथाहरूको संग्र्रह ‘अ–विधवा’मा सातवटा कथाहरू रहेका छन् । ती कथाहरूबारे आफ्नो समालोचकीय मन्तव्य राख्दै डा.ज्ञानु अधिकारीले अ–विधवा शीर्षकमाथि आफ्नो विमति रहे पनि कथाहरू पढ्दै जाँदा रमाइलो लागेको बताइन् । अ–विधवामा सामाजिक, मनोबैज्ञानिक र नियतिका गम्भीर विषयवस्तु उठाइएको बताउँदै लामो कथा लेखन ज्यादै चुनौतीपूर्ण हुने रहेछ भनेर बताइन् । कथाहरूमा नारी पात्रहरू सशक्त र सबल रहेको उनको भनाइ थियो ।
समालोचक डा.अशोक थापाले ‘अ–विधवा’ का कथाहरू शक्तिशाली भएको र कथाहरू पढ्दै जाँदा बन्दागोवीको पत्र निकाल्दै जाँदा अर्को पत्र अर्को पत्र हुँदै कथाका पत्रहरू देखिने र कथामा लामो कालखण्डको विस्तार भएको बताए । अ–विधवा कथाहरूभित्र मनोबैज्ञानिक कुरालाई सुक्ष्म रूपले पात्रको चित्रण गरिएको र कथाकार जीवन्त भई प्रवेश गरेको बताउँदै उनले फ्ल्यास ब्याकलाई वर्तमानसँग जोडेको बताए ।
कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले गोविन्द गिरी प्रेरणाले सबै विधामा कलम चलाएको र कुनै पनि विधा कमजोर नभएको बताए । बेफुर्सदको समयमा लामा लामा कथाहरू पढ्ने समय नभएको बेला प्रेरणाका लामा लामा कथा पाठकलाई पनि चुनौती भएको बताए । मन्तव्यका क्रममा उनले ‘गन्तव्य गणबहाल’को पनि चर्चा गरेका थिए।
कार्यक्रममा ‘अ–विधवा’का लेखक गोविन्द गिरी प्रेरणाले गर्भ रचनाका बारेमा संक्षेपमा प्रकाश पार्दै लामो ’अ–विधवा’लामो कथाको निरन्तरता भएको बताए ।
लामो कथा लेखनप्रति आफ्नो लगाव रहेको बताउँदै उनले डा.दयाराम श्रेष्ठ तथा डा.लक्ष्मणप्रसाद गौतमको आफ्ना पुस्तकमा रहेका भूमिकाले आफूलाई लामो कथा लेख्नमा उर्जा प्राप्त भएको बताए ।
आफू अझै लेखन कार्यमा सिक्दै गरेको बताउँदै अध्ययन र अनुसन्धानको कुनै सीमा नहुने सन्दर्भमा स्वस्थ्य आलोचनाबाट लेखनमा अझ उर्जा मिल्ने बताए । कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै उनले पुस्तक प्रकाशक इम्प्रिन्ट पब्लिसर्स तथा रमेश घोरासैनीप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा उनले प्रेरणाका कृतिहरूको फेहरिस्त सुनाएका थिए ।