
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सो सुझाव दिएकी हुन् ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौति अहिले पनि यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताइन् । प्रमुख सचेतक थापाले रोजगारी सृजना, कृषि, पर्यटन, जल विद्युत क्षेत्रको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।
प्रमुख सचेतक थापाले सरकारले रोजगारीको अवसर सिर्जना हुने खालका कार्यक्रमहरूलाई पनि बजेटमा प्राथमिकताका साथ राख्न आग्रह गरिन् ।