
रौतहट : रौतहटको बौधिमाई नगरपालिकाका नगरप्रमुखबाट एक शिक्षकमाथि दुर्व्यवहार, गालीगलौज तथा हातपात भएको आरोप सार्वजनिक भएपछि विद्यालय प्रशासनले गम्भीर आपत्ति जनाएको छ ।
शंकर माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक रामबाबु यादवमाथि नगरप्रमुखबाट अभद्र व्यवहार भएको भन्दै विद्यालय परिवारले दोषीमाथि कारबाहीको माग गरेको हो ।
विद्यालयले जारी गरेको विज्ञप्तिअनुसार, प्राथमिक तह तृतीय श्रेणीका शिक्षक यादवमाथि गत वैशाख २९ गते नगरपालिका कार्यालयमै दुर्व्यवहार र हातपात भएको दाबी गरिएको छ । घटनापछि पीडित शिक्षकले भोलिपल्ट विद्यालयलाई मौखिक जानकारी गराएपछि विषय सार्वजनिक भएको जनाइएको छ ।
प्रधानाध्यापक संजय जयसवालद्वारा जारी विज्ञप्तिमा शिक्षकमाथि भएको भनिएको यस्तो अपमानजनक व्यवहारले शिक्षा क्षेत्रसँग आबद्ध शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।
विद्यालय प्रशासनले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि हुने यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश जाने भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
विज्ञप्तिमा पदीय मर्यादाविपरीत शिक्षकको आत्मसम्मानमा चोट पुग्ने कार्य अस्वीकार्य हुने चेतावनीसमेत दिइएको छ ।
यस घटनाबारे सम्बन्धित निकायको प्रतिक्रिया आउन बाँकी रहेको छ भने कानुनी प्रक्रिया अघि बढ्ने क्रममा रहेको जनाइएको छ । पछिल्लो समय रौतहटमा जनप्रतिनिधि र कर्मचारीबीचका विवादका घटना सार्वजनिक हुँदै जाँदा स्थानीय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेका छन् ।
