
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा समाजशास्त्रलगायतका क्षेत्रमा योगदान पुर्याएका १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’समर्पण गरेको छ । कमलादीस्थित प्रतिष्ठानमा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुरस्कृत स्रष्टाहरूलाई पुष्पमाला अर्पण गरेका थिए ।
कार्यक्रममा जनही एक लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार १२ जना स्रष्टालाई तथा जनही ५० हजार रुपैयाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कार ७ जना स्रष्टालाई प्रदान गरिएको छ ।
प्रज्ञा पुरस्कार–२०८२ अन्तर्गत समालोचनातर्फ अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्यसाहित्यतर्फ आहुति, भाषातर्फ मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई, मातृभाषा (हिमाली–पहाडी) तर्फ बुद्ध योञ्जन तथा मातृभाषा (मधेश–तराई) तर्फ अमरेन्द्रकुमार यादव लाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२ अन्तर्गत कोशी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बु, मधेस प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य तथा सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल सोडारीलाई पुरस्कृत गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै कुलपति राईले भाषा, साहित्य, संस्कृति र समाजशास्त्रका विविध क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रतिनिधिमूलक प्रतिभालाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । उनले पुरस्कारलाई वर्गीय राजनीतिको अभिव्यक्तिसमेत भएको धारणा राखे ।
कार्यक्रममा अभि सुवेदी, आहुति, डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन धनप्रसाद सुवेदीले गरेका थिए भने प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारी, मधुसूदन गिरी तथा बाबा बस्नेतले पुरस्कार र पुरस्कृत व्यक्तित्वबारे धारणा राखेका थिए ।