२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

डा. सुवेदीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ प्रदान गरिने

Nada
२०८३ जेठ ४ गते २१:१०
Shares
डा. सुवेदीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ प्रदान गरिने

काठमाडौं : युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ साहित्यकार डा.दुर्गाबहादुर सुवेदी क्षेत्री (डा. दुबसु क्षेत्री) लाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार नेपाली भाषा साहित्यको उन्नयन, अध्ययन, अनुसन्धान, प्रकाशन तथा स्रष्टा सम्मानका माध्यमबाट योगदान पुर्‍याउँदै आएको प्रतिष्ठानले यस वर्षको पुरस्कार डा. क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

ncell

पुरस्कार छनोटका लागि प्रा.डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा प्रा.डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य रहेको त्रिसदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसका आधारमा डा. क्षेत्रीलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

साहित्यकार, अनुसन्धाता तथा विभिन्न संस्थाका संस्थापकसमेत रहेका डा.क्षेत्रीले युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशन, उक्त कृतिको नाट्य रूपान्तरण गरी बेलायतलगायत विभिन्न देशमा मञ्चन, साथै युगकविका कविताहरूलाई अंग्रेजी र जापानी भाषामा अनुवाद तथा प्रकाशन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका अनुसार डा.क्षेत्रीले तीन दर्जनभन्दा बढी मौलिक सिर्जनात्मक तथा अनुसन्धानात्मक कृति, सम्पादित कृति र पत्रपत्रिका तथा अनूदित कृतिमार्फत नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । साथै दुई दर्जनभन्दा बढी संघसंस्थाको स्थापना र नेतृत्वमार्फत पनि विशिष्ट प्राज्ञिक योगदान दिएको जनाइएको छ ।

नगद एक लाख रुपैयाँसहित स्मृतिचिह्न र सम्मानपत्र रहेको उक्त पुरस्कार यहि जेठ ९ गते आयोजना हुने युगकवि सिद्धिचरण श्रेष्ठको ११४औं जन्मजयन्ती विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले जानकारी दिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर