२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मष्टा गाउँपालिकाको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी नागरिक लाभान्वित

Nada
२०८३ जेठ ५ गते १२:१३
Shares
मष्टा गाउँपालिकाको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी नागरिक लाभान्वित

बझाङ : दुर्गम क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मष्टा गाउँपालिकाले सञ्चालन गरेको दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविरबाट दुई सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

ncell

मष्टा गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल बझाङको सहकार्यमा गाउँपालिका–७ स्थित ठकुन्ना स्वास्थ्य चौकी र मष्टा–२ को नौरा बर्थिङ सेन्टरमा शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आर्थिक सहयोगमा आयोजित शिविरमा १ सय ९४ जना बिरामीले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा स्त्री तथा महिला रोग विशेषज्ञ डा. सरोजकुमार यादव र दन्त चिकित्सक नमिता बिकले दुर्गम बस्तीमै पुगेर सेवा दिएका थिए । शिविरमार्फत बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी तथा छालारोग सम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । साथै गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा पनि उपलब्ध गराइएको थियो ।

विशेषज्ञ चिकित्सक गाउँमै पुगेर उपचार सेवा दिएपछि स्थानीय नागरिकले राहत महसुस गरेको बताएका छन् । लामो समयदेखि स्वास्थ्य सेवाको अभाव झेल्दै आएका ग्रामीण बस्तीका नागरिकले शिविरलाई प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता एकीकृत शिविर सञ्चालन गरिएको बताए । जटिल रोगबाट पीडित बिरामीलाई आवश्यक परे अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

मानसिक स्वास्थ्यसम्बन्धी सेवा जिल्लाभित्र प्रभावकारी रूपमा उपलब्ध नभएकाले गाउँपालिकाले बिरामीलाई गाडीभाडा सहयोगसमेत उपलब्ध गराउने तयारी गरेको अध्यक्ष बोहराको भनाइ थियो ।

स्त्री तथा महिला रोग विशेषज्ञ डा. यादवले ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य अवस्था अझै चुनौतीपूर्ण रहेको बताए । अत्यधिक कामको बोझका कारण महिलाले बिरामी हुँदा पनि पर्याप्त आराम नपाउने समस्या रहेको उनको भनाइ थियो ।

गर्भवती महिलाले सरसफाइ र पोषणयुक्त खानपानमा ध्यान नदिँदा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्ने उनले चेतावनी दिए । शिविरमा गरिएको पाठेघर स्क्रिनिङका क्रममा धेरै महिलामा सेतोपानी बग्ने, आङ खस्ने लगायत समस्या देखिएको डा. यादवले जानकारी दिए ।

दन्त चिकित्सक नमिता बिकका अनुसार शिविरमा ५६ जनाको भिडियो एक्स–रे गरिएको, ३५ जनाको दाँत उपचार गरिएको तथा १३ जनाको दाँत निकालिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर