२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

Nada
२०८३ जेठ ५ गते १३:१९
Shares
एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ : यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ । 

ncell

पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए। हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । यसबाहेक सगरमाथाकै लागि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताए।

यसबाहेक, ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजंघाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ । पाँच हजार ८०० देखि छ हजार ५०० सम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण संघ ९एनएमए०ले दिने गरेको छ ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले सबैभन्दा सगरमाथाबाट एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसबाहेक, ल्होत्सेबाट छ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजंघाबाट एक करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व संकलन भएको छ ।

विभिन्न हिमाल आरोहण सुरु भइसकेकामा सगरमाथाको आरोहण भने यही वैशाख ३१ गतेबाट सुरु भएको छ । डोरी टाँग्ने र बाटो बनाउने काम सम्पन्न भएसँगै आरोहीहरूले आरोहण गर्ने क्रम जारी छ । पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमालमा आरोहणमा विदेशीहरूको आकर्षण बढेको हो ।
 

ताजा खबर

सम्बन्धित खबर