
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र मर्यादामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा पदभार ग्रहण गरेलगत्तै सम्बोधन गर्दै उनले न्याय सम्पादन प्रक्रियामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने स्पष्ट पारे ।
प्रधानन्यायाधीश शर्माले स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा कुनै सम्झौता नहुने बताए । उनले न्यायपालिकालाई संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख स्तम्भका रूपमा व्याख्या गरे ।
उनले आफ्नो कार्यकालको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण तथा संरक्षण रहेको पनि बताए । “न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड हो,” उनले भने, “यस विषयमा कसैले शंका राख्नुपर्ने अवस्था आउन दिइने छैन ।”
प्रधानन्यायाधीश शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा हस्तक्षेप हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको न्यायप्रतिको विश्वास थप सुदृढ बनाउने दायित्व आफूले ग्रहण गरेको बताए ।
पदभार ग्रहणका लागि सर्वोच्च अदालत पुगेका शर्मालाई न्यायाधीश कुमार रेग्मीले फूलमाला लगाएर स्वागत गरेका थिए ।