
रौतहट : रौतहटको गौर नगरपालिका–५ स्थित सनसाइन बोर्डिङ स्कुलका सञ्चालक घरभाडा तथा अन्य बक्यौता रकम नतिरी फरार भएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको पुरानो भवन भाडामा सञ्चालन हुँदै आएको विद्यालयका सञ्चालक दिनेश कुमार महतो करिब १२ लाख रुपैयाँभन्दा बढी बक्यौता छाडेर सम्पर्कविहीन भएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका अनुसार विद्यालयले पाँच वर्षदेखि भवन भाडामा लिँदै आएको थियो। यस अवधिमा घरभाडा, विद्युत् र पानीको शुल्कसमेत नतिरी सञ्चालक महतो प्रतिनिधिसभा निर्वाचनको समय पारेर रातिको समयमा विद्यालयका कोठामा सानो ताल्चा लगाइ सामान सारेपछि फरार भएको आरोप लगाइएको छ ।
रेडक्रसका अनुसार विद्यालय सञ्चालकले कुल १२ लाख १ हजार ४२७ रुपैयाँ बक्यौता राखेका छन् । जसमा घरभाडा ८ लाख २६ हजार ७६१ रुपैयाँ, विद्युत् महसुल २ लाख ६३ हजार ३८ रुपैयाँ र पानीको बिल १ लाख ११ हजार ६६८ रुपैयाँ रहेको छ ।
रौतहट रेडक्रस शाखाका सभापति राजकिशोर प्रसाद यादवले सामाजिक सेवामा समर्पित संस्थाको रकम डुबाउनु दुःखद भएको बताएका छन् ।
पटक–पटक ताकेता गर्दा पनि रकम भुक्तानी नगरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन दर्ता गरी जिल्ला प्रहरी कार्यालयमार्फत रकम असुल तथा फरार व्यक्तिको खोजी गर्न आग्रह गरिएको उनले जानकारी दिए ।
यता रेडक्रसका प्रशासन प्रमुख कपिलदेव पंडितले सामाजिक संस्थाको बक्यौता रकम असुल गर्न प्रहरी प्रशासनले आवश्यक चासो नदिएको गुनासो गरेका छन् ।
विद्यालय भवनका कोठामा लगाइएको ताला कानुनी प्रक्रिया पूरा गरी खोलिएको जनाइएको छ । ताला खोल्ने क्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सम्बन्धित वडाध्यक्ष शिवशंकर यादव, वडा सचिव रवि राउत, रेडक्रसका पदाधिकारी, संस्थाका सदस्य तथा पत्रकार महासंघका प्रतिनिधिहरूको रोहवर रहेको थियो ।