
अर्घाखाँची : छत्रदेव गाउँपालिका लाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पूर्ण खोप अभियानले बालबालिकालाई विभिन्न घातक रोगबाट जोगाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै यसको दिगोपनाका लागि स्वास्थ्यकर्मी थप सक्रिय हुनुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष मणि पन्थीले खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अतुलनीय रहेको बताइन् । उनले गाउँ–गाउँमा पुगेर अभिभावकलाई खोपको महत्व बुझाउने, छुटेका बालबालिकाको तथ्यांक संकलन गर्ने तथा स्वास्थ्य सचेतना फैलाउने कार्य स्वयंसेविकाहरूले निरन्तर गर्दै आएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले पूर्ण खोप सुनिश्चितता केवल घोषणा मात्र नभई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए । उनले नियमित अनुगमन, प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन तथा समुदायस्तरमै स्वास्थ्य चेतना विस्तार गर्न गाउँपालिका निरन्तर सक्रिय रहने स्पष्ट पारे ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले नागरिक र बालबालिकाको स्वास्थ्य सुरक्षामा गाउँपालिका स्वास्थ्य शाखाले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकमैत्री सेवा विस्तार हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य शाखा प्रमुख बुद्धिराज न्यौपानेले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्यसहित निरन्तर कार्यक्रम सञ्चालन गरिएकै कारण गाउँपालिका पूर्ण खोप तथा दिगोपना घोषणा गर्न सफल भएको बताए । उनले स्वास्थ्य संस्था, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकबीचको प्रभावकारी समन्वयले अभियान सफल भएको धारणा राखे ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता कमल पौडेल, वडा नं. १ का अध्यक्ष काजिबाबु ज्ञवाली, वडा नं. २ का अध्यक्ष शंकर पाण्डे तथा वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ग्रामीण स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले वर्षौंदेखि समुदायमा स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच पनि उनीहरूले गर्भवती महिलाको स्वास्थ्य निगरानी, सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण सुधार, सरसफाइ तथा बालस्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
स्थानीय तह गठनपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै छत्रदेव गाउँपालिकाले दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार, निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य शिक्षा, किशोरी स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा पोषण सुधार अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।