
काठमाडौँ : कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ । अस्वस्थ हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बेहास अवस्थाका प्रशिक्षार्थीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ ।
उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी रहेको बताइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।