२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिरहामा बालकको निर्मम हत्या, न्यायको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन

Nada
मुकेश यादव
२०८३ जेठ ८ गते १८:१०
Shares
सिरहामा बालकको निर्मम हत्या, न्यायको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन

सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोलीका एक बालकको निर्ममतापूर्वक हत्या भएको छ । हत्या हुनेमा २ वर्ष १० महिनाका अभियानशु कुमार यादव रहेका छन्  ।

ncell

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बालकका पिता भोगेन्द्र प्रसाद यादवले घटनामा संलग्न दोषीको पहिचान गरी कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन दिएका छन् ।

परिवारका अनुसार, २०८३ साल वैशाख २६ गते साँझ करिब ४ बजेतिर बालक घर नजिकैबाट अचानक हराएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय बरियारपट्टीलाई जानकारी गराए पनि प्रारम्भिक चरणमा प्रहरीले सामान्य टिपोट मात्रै गरेको र गम्भीर रूपमा खोजी नगरेको आरोप परिवारको छ ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको सहयोगमा नजिकैको पोखरीमा पटक–पटक जाल हालेर खोजी गर्दा पनि बालक फेला परेन । ड्रोन क्यामेराको समेत प्रयोग गरिए पनि कुनै नतिजा नआएको बताइएको छ ।

पछि सशस्त्र प्रहरीको घोताखोर टोली परिचालन गरिएपछि वैशाख २८ गते घटनास्थलबाट करिब एक किलोमिटर टाढाको अर्को पोखरीमा बालकको शव फेला परेको थियो । शव अत्यन्तै क्रूर अवस्थामा, शरीरका विभिन्न भाग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

पोस्टमार्टम रिपोर्टले बालकको हत्या भएको पुष्टि गरेको छ भने धारिलो हतियार प्रयोग गरिएको देखिएको छ । तर यति गम्भीर घटनामा पनि हालसम्म दोषीको पहिचान तथा पक्राउ हुन नसकेको भन्दै परिवारले आक्रोश व्यक्त गरेको छ ।

“यदि सुरुमै गम्भीर रूपमा अनुसन्धान भएको भए, बालकलाई समयमै फेला पार्न सकिन्थ्यो,” परिवारको भनाइ छ । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र न्याय दिलाउन सरकारसँग माग गरेको छ । साथै, नेपाल प्रहरीप्रति अझै पनि सत्य पत्ता लगाउने विश्वास रहेको उनीहरूले बताएका छन् ।

सम्बन्धित खबर