२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल–भारत संयुक्त बैठक : अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

Nada
प्रविण टिबडेवाल
२०८३ जेठ ९ गते २१:११
Shares
नेपाल–भारत संयुक्त बैठक : अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

रौतहट : भारतको बिहार राज्य अन्तर्गत पर्ने सितामढी जिल्लामा शनिबार भारत र नेपालका सुरक्षा निकायहरूको संयुक्त बैठक सम्पन्न भएको छ । 

ncell

सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त बैठकमा दुवै देशका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

नेपालको तर्फबाट महोत्तरी जिल्ला, सर्लाही जिल्ला र रौतहट जिल्ला का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो भने भारतकोतर्फबाट सितामढी जिल्लाका सुरक्षा अधिकारीहरू सहभागी भएका थिए ।

बैठकमा सीमावर्ती नाकाहरूमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि आपसी समन्वय गरेर संयुक्त रूपमा कार्य गर्ने सहमति भएको छ ।

त्यस्तै, गैरकानुनी मुद्रा ओसारपसार नियन्त्रणमा कडाइ गर्ने, तस्करी तथा विभिन्न अवैध गतिविधि रोक्ने, अवैध मदिरा कारोबार नियन्त्रण गर्ने, नार्कोटिक औषधि तथा लागुऔषध कारोबार नियन्त्रणमा संयुक्त रूपमा कडाइका साथ काम गर्ने निर्णय गरिएको छ ।

बैठकमा विपद् व्यवस्थापनमा आपसी सहकार्य गर्ने, दशगजा अतिक्रमण नियन्त्रण गर्ने तथा अपराधसम्बन्धी सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाएर सीमा क्षेत्रमा अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति समेत भएको सहभागीहरूले बताएका छन् ।

यसैगरी नेपाल–भारतबीच रहँदै आएको बेटी–रोटीको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो ।

बैठकमा सहभागी दिनेश सागर भुसालले सीमा सुरक्षा, अपराध नियन्त्रण र आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउन दुवै देशका सुरक्षा निकायहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर