
रौतहट : रौतहटको मौलापुर नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय मर्यादपुरले २०८२ सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिएको छ ।
विद्यालयबाट यस वर्ष ३० जना विद्यार्थीहरू एसइइ परीक्षामा सहभागी भएका थिए । मौलापुर नगरपालिकाले सार्वजनिक गरेको परिणामअनुसार सबै विद्यार्थी उत्तीर्ण भएसँगै विद्यालयले शतप्रतिशत सफलता हासिल गरेको हो । यस उपलब्धिले मर्यादपुर स्कुलको शैक्षिक गुणस्तर र निरन्तर प्रगतिको संकेत दिएको छ ।
विद्यालयका प्रधानाध्यापक दिनदयाल साहका अनुसार विद्यालय स्थापना भएदेखि नै एसइई परीक्षामा उत्कृष्ट नतिजा कायम रहँदै आएको छ ।
उनले मध्यान्ह राष्ट्रिय दैनिकसँग कुरा गर्दै भने, ‘हाम्रो लक्ष्य केवल परीक्षा पास गराउनु मात्र होइन, विद्यार्थीलाई सक्षम, आत्मविश्वासी र व्यवहारिक बनाउनु हो । निरन्तरको मेहनत, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र विद्यार्थीको लगनशीलताकै परिणाम आजको सफलता हो ।’
प्रधानाध्यापक साहले विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिको समर्पण र निरन्तर प्रयासका कारण यस्तो नतिजा सम्भव भएको उल्लेख गरे । उनका अनुसार आगामी दिनमा पनि शतप्रतिशत नतिजा कायम राख्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको छ ।
विद्यालयले पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समेत विशेष ध्यान दिँदै आएको जनाएको छ । विद्यार्थीहरूको मनोविज्ञान, उमेर, क्षमता र आकांक्षालाई ध्यानमा राख्दै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रूपमा सहभागी गराइँदै आएको विद्यालयले जनाएको छ । उत्तीर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।