
काठमाडौं : नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का अध्यक्ष रोयल आचार्यलाई मातृशोक परेको छ । केटिएम भ्वाइसका सम्पादक तथा मध्यान्ह दैनिकका पूर्व आर्थिक संवाददातासमेत रहेका आचार्यकी माता भुनकुमारी आचार्यको ७३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको हो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
परिवारका अनुसार स्व. आचार्य लामो समयदेखि स्वासप्रश्वाससम्बन्धी समस्या, दम लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी थिइन् । स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।
आचार्यको निधनप्रति नेपाल पत्रकार मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका महासचिव राजु भण्डारीद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको मञ्चले जनाएको छ ।
पत्रकारिता क्षेत्रमा सक्रिय रोयल आचार्यको पारिवारिक शोकप्रति सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाले समेत समवेदना व्यक्त गरिरहेका छन् ।